Main News

आजदेखि खुला चुनाव प्रचारमा उत्रँदै उम्मेदवार तथा राजनीतिक दल

हिमालय टिभी
२०७९ कार्तिक १७ गते ९:०९
आजदेखि खुला चुनाव प्रचारमा उत्रँदै उम्मेदवार तथा राजनीतिक दल

१७ कात्तिक २०७९ काठमाडौं । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आजदेखि खुला प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आजदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । आयोगका अनुसार आजदेखि निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।

हिजोसम्म दल र उम्मेदवारले सीमित घरदैलो कार्यक्रम गर्दै आएका थिए । खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा केन्द्रित हुनुहुने भएको छ ।

गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभा र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा गृह प्रदेश सुदूरपश्चिम पुगिसक्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ सहित पार्टीका प्रचार कार्यक्रममा सहभागी हुने तय भएको छ । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिदेखि देश दौडाहामा निस्किने हुनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव अहिले निर्वाचन क्षेत्र सप्तरी २ मा मतदाता भेटघाट र घरदैलो कार्यक्रममै व्यस्त हुनुहुन्छ । त्यस्तै, लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचन क्षेत्र महोत्तरी ३ को पूर्वनिर्धारित कार्यक्रममै व्यस्त हुनुहुन्छ ।

यसैबीच निर्वाचन प्रचारको दोस्रो चरण आजदेखि सुरु हुने भएपछि आयोगले दलहरूलाई आचारसंहिता पालनामा ध्यान दिन पुनः आग्रह गरेको छ । आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *