महावीर पुन नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रको टोली वीरगञ्जमा (भिडियो रिपोर्टसहित)
१६ कात्तिक २०७९ वीरगञ्ज । कृषि औजार कारखाना सञ्चालनको जिम्मेवारी पाएसँगै राष्ट्रिय आविष्कार केन्द्रको टोली वीरगञ्ज पुगेको छ । एक वर्षभित्र कारखाना सञ्चालन गर्ने लक्ष्य लिएर वैज्ञानिक महावीर पुन नेतृत्वको टोली कारखानामा गएर त्यसको स्तरोन्नतिमा लागेको छ ।
गत कात्तिक ६ गते बसेको कृषि औजार कारखानाको सञ्चालक समितिको बैठकले कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गर्यो ।
जिम्मेवारी पाएसँगै एसियाको नोबेल पुरस्कार समेत भनिने मेगासेसे पुरस्कार पाएका वैज्ञानिक महावीर पुन नेतृत्वको टोलीले कारखाना पुगेर त्यहाँको लगत संकलनको कार्य सुरु गरेको छ । आविष्कार केन्द्रका प्राविधिक सहितको टोलीले कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।
६० वर्ष पुरानो औजार कारखानामा रहेका उपकरण धेरैजसो सामान्य मर्मतपछि सञ्चालन हुन सक्ने अवस्थामा छन् । आठदेखि दश महिनाभित्र मर्मत भइसक्ने र त्यसपछि कारखाना सञ्चालन हुने आविष्कार केन्द्रको योजना छ ।
२–३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र धेरैभन्दा धेरै उत्पादन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको छ ।
कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि आवश्यक रकमको स्टिमेट अर्थ मन्त्रालयमा पठाउनेछ ।
प्रतिक्रिया