एमालेकाे घाेषणापत्र– कम छैनन् मिठा नारा र याेजना, हाेलान् पूरा ? (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०७९ काठमाडौं । दुई तिहाइ नजिकको सरकार विस्थापनपछि प्रतिपक्षमा पुगेको नेकपा एमालेले आगामी पाँच वर्षका लागि २० वटा ग्यारेन्टीसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमार्फत् आफ्नै नेतृत्वमा आगामी सरकार बने गरिने २० वटा कामको ग्यारेन्टीसहित एजेण्डाअघि सारिएको हो। स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ देखि एक सय खर्बको अर्थतन्त्रसम्मका महत्वकांक्षी योजना एमालेले अघि सारेको छ ।
सत्तारुढ र अन्य दलको भन्दा फरक शैली र आक्रामक योजनासहित एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले २० प्रतिवद्धतासहित २० हजार शब्दको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नीति कार्यान्वयन गर्ने प्रतिबद्धताका साथै कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्नेसम्मको योजना ल्याएको छ । संसद विघटनलाई बाध्यात्मक भनेको एमालेले अबको पाँच वर्ष एमालेले गर्छ भन्ने नारा तय गरेको छ ।
देशको अर्थतन्त्र र प्रतिव्यक्ति आयमा फड्को मार्ने गरी काम गर्ने उल्लेख गरिएको घोषणापत्रमा कुल गार्हस्थ उत्पादन ९जिडिपी० लाई आगामी पाँच वर्षभित्र एक सय खर्ब रूपैयाँ पुऱ्याइने उल्लेख छ । यस्तै नेपालीको औसत प्रतिव्यक्ति आम्दानी २४ सय डलर अर्थात ३ लाख पुर्याउने लक्ष्यसहित साना, मझौला तथा ठूला उद्योगको विस्तार र विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्याउन काम गरिने उल्लेख छ । यस्तै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका सामाजिक सुरक्षा योजना र भत्ता बढाउने र न्यूनतम ज्याला मासिक २५ हजार पुर्याउने उल्लेख छ ।
ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने उल्लेख छ । अन्य दलको भन्दा फरक शैलीमा सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेले ओली नेतृत्वको नेकपा सरकारले गरेका अधुरा कामलाई पुर्णता दिने प्रतिबद्धता जनाएको छ । रेलमार्ग, सुरुङ मार्ग र पानीजहाजको विषयलाई जोडतोडले उठाएको एमालेले सडक पूर्वाधार, कृषि र रोजगारीलाई पनि आकर्षक ढंगले प्रस्तुत गरेको छ ।
सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि एमालेको २० प्रतिबद्धता
१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने
८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने
९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निस्शुल्क
१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क
११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३. ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने
१४. ‘सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
१९. ‘सभ्य समाज स् मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने
प्रतिक्रिया