राजनीति

विप्लव समूहले निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने

हिमालय टिभी
२०७९ कार्तिक १५ गते १६:२०
विप्लव समूहले निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने

१५ कात्तिक २०७९ काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध लाग्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कार्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले निर्वाचनविरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरुको आयोजना गरिने बताउनु भयो । पार्टीले निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

चुनाव खारेज अभियानलाई सहयोग पुग्नेगरी केन्द्रीय सामना परिवारबाट साँस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको छ । बैठकले २९ सदस्यीय पोलिटब्यूरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचित गरेको छ भने केन्द्रीय समितिको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ ।

त्यस्तै नवौँ महाधिवेशनसँग सम्बन्धित आर्थिक हिसावकितावलाई कार्तिक मसान्तसम्म केन्द्रित गरेर बन्द गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य बुढामगरले जानकारी दिनुभयो ।

त्यसैगरी यही कार्तिकमा नवौं महाधिवेशन विशेषाङ्क मुखपत्र र नयाँ दृष्टिकोण प्रकाशित गर्ने, पार्टीको केन्द्रीय पुस्तकालयलाई सुव्यवस्थित गर्न पुस्तकालय विभागले कामलाई निरन्तर अगाडी बढाउने निर्णय गरिएको पनि उहाँले बताउनु भयो ।

बैठकले पार्टीका नेता वीरजङको मृत्यु भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाई पार्टीको धारणा बनाउने निर्णय गर्न स्थायी समिति सदस्य विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्