राजनीति

रोचक बन्दै रुपन्देही दुईको चुनावी प्रतिष्पर्धा (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १४ गते २१:३८
रोचक बन्दै रुपन्देही दुईको चुनावी प्रतिष्पर्धा (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७९ बुटवल । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै रुपन्देही क्षेत्र नम्बर २ को चर्चा सुरु भयो ।

सत्तापक्ष गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीले यो क्षेत्रलाई थप चर्चित बनायो । अहिले गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेपछि रुपन्देही क्षेत्र नम्बर २ को भिडन्त रोचक हुने देखिएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्तादेखि खारेजीको विषयले रुपन्देहीको क्षेत्र नं. २ ले चर्चा पायो । ५ दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजबादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि गठबन्धन उम्मेदवार बिहिन बन्न पुग्यो । उम्मेदवार बिहिन गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष तथा उम्मेदवार केशवबहादुर थापा सूर्यवंशीलाई समर्थन गरेसँगै प्रचारप्रसार सुरु गरेको छ । अहिले त्यहाँ ६ दलीय गठबन्धन बनेको छ । प्रचारप्रसार कार्यालयको स्थापना गर्दै गठबन्धनले प्रचारप्रसारलाई तीब्र पारेको छ ।

बुटवल उपमहानगर, सैनामैना र तिलोत्तमा गरी २३ वटा वडा पर्ने यो क्षेत्रमा १ लाख २८ हजार ६७७ मतदाता छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत अनुसार यहाँ नेपाली कांग्रेस अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसले ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादीले ३ हजार १८८, एकीकृत समाजवादीले १ हजार ३८२ र जसपाले १८३ मत पाएका छन । अहिले यहाँ राप्रपा र जसपाले एमालेका विष्णु पौडेललाई समर्थन गरेका छन । यसरी राप्रपा, एमाले र जसपाको मत जोड्दा ३७ हजार २९० हुन्छ ।

अर्कोतिर सत्ता गठबन्धनको मत ३९ हजार ५२९ देखिन्छ । यो आधारमा राष्ट्रिय जनमुक्ति पार्टीको मत बिना नै सत्तारुढ गठबन्धन दुई हजारभन्दा बढी मतले अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका केही सीमित वडामा मात्र राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दिदा दुई हजार ७० मत पाएको थियो । यो मतसमेत जोड्ने हो भने सत्तारुढ गठबन्धन एमालेका उम्मेदवारको तुलनामा बलियो देखिन्छ । यही मतलाई हेरेर गठबन्धनले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएको छ ।

एमालेले भने गत स्थानीय निर्वाचनको नतिजाले फरक नपार्ने दाबी गरिरहेको छ । २०७४ सालमा एमालेका विष्णु पौडेलले ४४ हजार ९ मत ल्याउँदा नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४५ मत ल्याउनु भएको थियो । तर त्यतिबेला एमाले र माओवादी केन्द्रबीच वामगठबन्धन थियो ।

सत्ता पक्षीय गठबन्धनले जनमुक्तिलाई समर्थन गरे पछि राप्रपा र जसपाको साथ पाएका एमाले उपाध्यक्ष पौडेल पनि मतदातालाई आफ्नो पक्षमा पार्नको लागि कार्यकर्ता भेटघाटदेखि प्रचारप्रसार कार्यालय उद्घाटनमा ब्यस्त देखिनुहुन्छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरमा जनमुक्तिले नेकपा एमालेलाई समर्थन गरेको थियो । अहिले सत्ता गठबन्धनको साथ पाएको जनमुक्तिका उम्मेदवारको अब कस्तो नतिजा आउँछ हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्