माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको चुनावी घोषणापत्र आज आउने

१४ कात्तिक २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन् ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको घोष्णापत्र सार्वजनिक गर्ने तयारी भएको छ ।
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय घोषणापत्रमा उठाइएको नेता पोखरेलले बताउनुभयो ।
एकीकृत समाजवादी पार्टीले पार्टी केन्द्रीय कार्यालय मीनभवन काठमाडौँमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने मूल नारा बनाएको छ ।
शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्ने र जनतालाई निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेसहितका विषय घोषणापत्रमा समेटिएको महासचिव भुसालले जानकारी दिनुभयो ।
यसैबीच राप्रपाले आज बिहान साढे ११ बजे चुनाव लक्षित घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँस्थित एक बैंक्वेटमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रमा समावेश गरिएको छ ।
प्रतिक्रिया