डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीपछि झन् विवादित बन्दै निर्वाचन आयोग (भिडियो रिपोर्टसहित)
१४ कात्तिक २०७९ काठमाडौं । निर्वाचन आयोगलाई विगतका निर्वाचनमा आचारसंहिता उलंघन गर्ने उम्मेदवार र पार्टीहरुप्रति नरम हुने गरेको आरोप लाग्ने गरेको छ । तर यसपटकको निर्वाचनमा आयोगले क्रियाशीलता देखाउन खोजेको छ तर उल्टै विवाद सिर्जना भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुरको क्षेत्र नम्बर तीनमा उम्मेदवारी दिएकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि आयोगको निर्णय विवादित बनेको छ ।
निर्वाचन आयोगले शनिबार जारी गरेको एउटा विज्ञप्तिले हलचल मच्चिएको छ । उम्मेदवारहरुलाई विभिन्न नाममा स्पष्टीकरण सोधेरै टार्ने गरेको आरोप खेप्दै आएको आयोगले ललितपुर( ३ बाट उम्मेदवारी दिएकी चिकित्सक तोसिमा कार्कीको त उम्मेदवारी नै खारेज गरिदियो । मेडिकल काउन्सिलमा बहालवाला पदमा रहेको र बैठक भत्ता बुझेको प्रमाणित भएपछि काउन्सिलकै पत्रका आधारमा कार्कीको उम्मेदवारी खारेज गरेको आयोगको दाबी छ ।
तर ठूला राजनीतिक दल र अन्य उम्मेदवारहरुलाई स्पष्टीकरण सोधेकै भरमा उन्मुक्ति दिइरहेको आयोगले तोसिमाको उम्मेदवारीमा भने भेदभावपूर्ण व्यवहार गरेको भन्दै आलोचना भएको छ ।
स्वयंम कार्कीले पनि उम्मेदवारी मनोनयन दर्ता गर्नु धेरै अघि नै निर्वाचन आयोगलाई आफू नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र बैठक भत्ता लिने गरकाले लाभको पद हो कि होइन भनेर जिज्ञासा राख्दा कुनै जवाफ नपाएको तर अहिले उम्मेदवारी खारेज गरिदिएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
उम्मेदवारी दर्तापछि दाबी विरोध र त्यसपछि चुनाव चिन्ह नै आयोगले प्रदान गरेको अवस्थामा उम्मेदवारी खारेज भएकाले अब आफू सर्वोच्च अदालतमा जाने कार्कीको भनाइ छ ।
आयोगले भने संविधानमै भएको व्यवस्था अनुसार आयोगले प्राप्त भएको उजुरी उपर छानबिनपछि संवैधानिक परिधिभित्रै रहेर उम्मेदवारी खारेज गरेको जिकिर गर्छ ।
प्रधानमन्त्री, मन्त्रीहरु सरकारी सुविधामै चुनावमा भाग लिने मात्रै नभएर चुनाव प्रचार गर्न हुने, कतिपय उम्मेदवारलाई स्पष्टीकरण सोधेको भरमा छुटकरा दिने तर कतिपयविरुद्ध एक्सनमै गइहाल्ने आयोगको निर्णयमा भेदभावपूर्ण भएको नयाँ उम्मेदवारहरुको गुनासो छ ।
आयोग निश्पक्ष छैन इशारामा चलेकी देखिन्छ