दलहरूद्वारा घोषणापत्र सार्वजनिक गर्न ढिलाइ, कांग्रेसले आज सार्वजनिक गर्ने

१२ कात्तिक २०७९ काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको चुनाव आउन अब २२ दिन मात्र बाँकी छ । तर दलहरुले घोषणापत्र सार्वजनिक गर्न भने ढिलाइ गरिरहेका छन् ।
सत्ता र प्रतिपक्षमा रहेका प्रमुख राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्न एकअर्कालाई कुरिरहेका छन् । तिहारअघि नै घोषणापत्र तयार भएपनि कांंग्रेस, माओवादी केन्द्र, एमाले लगायतका दलले घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन् ।
नेपाली कांग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नुहुनेछ ।
जनता समाजवादी पार्टी जसपा नेपालले पनि प्रदेश सरकारलाई प्रभावकारी र अधिकार सम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।
प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेको उहाँले बताउनुभयो । जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणा घोषणापत्रमा समेटेको पनि प्रवक्ता सुमनले जानकारी दिनुभयो ।
नेकपा एमाले भने १८ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेले घोषणा पत्रको सम्पूर्ण तयारी सकेको छ । तर सार्वजनिक भने केही ढिला गरि गर्न लागेको हो ।
एमालेले कात्तिक १८ बाट नै औपचारिक चुनावी सभाको पनि थालनी गर्ने बताएको छ । कात्तिक १८ गते दार्चुलाको लिपुलेक क्षेत्रबाट चुनावी सभा थालनी गर्ने तयारी गरेको एमाले नेता विशाल भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया