Main News

देउसी खेल्दै भोट माग्दै उम्मेदवार

२०७९ कार्तिक १० गते ७:०४
देउसी खेल्दै भोट माग्दै उम्मेदवार

१० कात्तिक २०७९ दोधारा चाँदनी । देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् ।

नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहनुभएको छ । त्यसैगरी कांग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल, नेकपा (एमाले)–राप्रपा गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज जोशीलगायतका उम्मेदवार देउसीभैलोको सदुपयोग गर्दै जनतासँग मत मागिरहनुभएको छ । घरदैलो अभियानमा रहेका उम्मेदवारले तिहारको समयमा पनि अभियानलाई निरन्तरता दिनुभएको छ ।

नेपाली कांग्रेस कञ्चनपुरका नेता केशव चन्दले तिहारको समयमा पनि घरदैलो अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो । “घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “तिहारको समयमा देउसीभैलोको रौनकता छ, हाम्रा उम्मेदवारले पनि देउसीभैलोमा सहभागी भएर मत दिन आग्रह गरिरहनुभएको छ”, उहाँले जनतासँगै रमाउँदै मत माग्दै गरिरहेको बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका भीमदत्तनगर अध्यक्ष करन पालले पनि उम्मेदवारहरू देउसीभैलोको सदुपयोग गरिरहेको बताउनुभयो । “अहिले उम्मेदवारहरूले देउसीभैलो कार्यक्रममा सहभागी भएर आफ्ना कुरा जनतासमक्ष राख्ने र मत दिन आग्रह गरिरहेका छन्”, उहाँले भन्नुभयो, “देउसीभैलोमा सहभागी हँुदै घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ ।” निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *