Main News

लक्ष्मी पूजाको दिन ३८० मेगावाट विद्युत भारत निर्यात, नेपालमा कस्तो छ विद्युतको अवस्था ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ८ गते २१:०३
लक्ष्मी पूजाको दिन ३८० मेगावाट विद्युत भारत निर्यात, नेपालमा कस्तो छ विद्युतको अवस्था ? (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७९ काठमाडौं । विगतका वर्षमा लक्ष्मी पूजाको दिन माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था थियो । तर यो वर्षको लक्ष्मी पूजाको दिन ३८० मेगावाट विद्युत निर्यात गरियो ।

पछिल्लो समय नेपाल विद्युतमा आत्मनिर्भर भई निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । तर आवश्यक पूर्वाधारको अभावमा स्वदेशमै गुणस्तरीय विद्युत आपूर्ति हुन सकेको छैन् ।

२०७३ कात्तिक १४ गते लक्ष्मी पूजाको दिन पहिलो पटक नागरिकले चाहिए जति बत्ती बाल्न पाएका थिए । अर्थात १८ घण्टाको लाडसेडिङबाट मुक्ति पाएको दिन थियो त्यो । त्यसको ६ वर्षपछि २०७९ कात्तिक ७ गते लक्ष्मी पूजाका दिन मुलुकमा विद्युत खपत बढी भएर हालसम्मकै सबैभन्दा धेरै ३८० मेगावाट भारततर्फ निर्यात गरियो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार यो दिन देशभरको कुल पिक डिमान्ड १३०५ मेगावाट पुगेको थियो । विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिनको माग धान्न भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।
वर्षायाममा नेपालमै उत्पादित विजुलीले यहाँको माग धानेर भारतमा बेच्न सकिए पनि हिउँदमा नदिनालामा पानीको सतह घट्ने हुँदा उत्पादन कम भई आयात गर्नुपर्ने अवस्था छ । अहिले नेपालले करिब २ सय मेगावाट विजुली भारतमा बेचिरहेको छ ।

प्राधिकरणका अनुसार अहिले नेपालको कुल विद्युत जडित क्षमता २ हजार २ सय ५ मेगावाट हो । अधिकतम विद्युत माग करिब १८०० मेगावाट बराबर मात्रै छ । विशेष त तिहारमा उद्योगधन्दा कलकारखाना र कार्यालय बन्द हुन्छन् ।

यो अवस्थामा निर्यात बढ्नु स्वभाविक नै हो । काठमाडौं उपत्यकामै पनि पर्याप्त विद्युत खपत गर्न प्राधिकरणको वितरण प्रणालीले साथ दिइरहेको छैन । साढे ४ सय मेगावाट विद्युत मागभन्दा बढी यहाँको प्रणालीले धान्दैन । उपत्यका बाहिरको अवस्था पनि उस्तै छ। त्यसकारण प्राधिकरणले अब विद्युत निर्यातको प्रचारमात्रै भन्दा पनि गुणस्तरीय विद्युत आपूर्तिमा जोड दिनुपर्ने उर्जा उत्पादकहरुको सुझाव छ ।

विद्युत निर्यात गर्ने अवस्थामा पुगिसके पनि मुलुकमा अझै पूर्ण विद्युतीकरण भइसकेको छैन । मुलुकमा भएका ६५ लाखभन्दा बढी परिवारमध्ये तीन लाख परिवारमा विद्युत पुगेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *