राजनीति

प्रदेश-१ मा पाँच नयाँ अनुहार, जस्ले हराउन सक्छन् शीर्ष नेता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ८ गते १७:१५
प्रदेश-१ मा पाँच नयाँ अनुहार, जस्ले हराउन सक्छन् शीर्ष नेता (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७९ काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रदेश एकका विभिन्न ५ निर्वाचन क्षेत्रमा ठुला दलका पाँच उम्मेदवार पहिलो पटक मैदानमा छन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने प्रदेश एकका यी पाँच क्षेत्रमा पनि रोचक भिडन्त हुँदैछ ।

प्रदेश १ का १४ जिल्लाका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अधिकांशमा पुरानै अनुहार दोहोरिएका छन् । सबै क्षेत्रमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुनेछ। पाँच निर्वाचन क्षेत्रमा भने पहिलो पटक चुनावी मैदानमा प्रवेश पाएका र अनुभवी नेताबीचको रोचक भिडन्त हुँदैछ ।

महेश बस्नेत, इलाम – १
इलाम १ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार हुनुहुन्छ । तर खनाललाई पूर्व कार्यकर्ता एवम् इलामका पूर्व मेयर महेश बस्नेतले चुनौती दिँदै हुनुहुन्छ ।

२०५६ बाहेकका सबै चुनावमा जितेका खनाल यसपटक कलम चिन्ह लिएर मैदानमा हुँदा एमालेको गढका रुपमा चिनिएको इलाम १ मा बस्नेत कडा चुनौतीका रुपमा देखिनुभएको छ । यहाँ एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२ र एकीकृत समाजवादीको ९ हजार ४८१ मत छ ।

मानवीर राई, सोलुखुम्बु
नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राई एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुमा कांग्रेसका बलबहादुर केसीसँग चुनाव लड्दै हुनुहुन्छ । २०४८ यताका सबै संसदीय चुनाव लडेका केसीसँग राईको पहिलो चुनावी भिडन्त पनि रोचक हुने देखिन्छ । ४ चुनाव जितेका केसी २०६४ र २०७४ को चुनावमा पराजित हुनुभएको थियो ।
यहाँ प्रदेश सभाका दुवै निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएसँगै कांग्रेसको संस्थापन पक्षले कुनै पनि तहमा टिकट नपाउँदा असन्तुष्टि देखिएको छ । यसको लाभ राईले पाउने देखिन्छ । यहाँ कांग्रेसको १९ हजार ६८, एमालेको १६ हजार ५९७ र माओवादीको १२ हजार ४२५ मत छ ।

डम्बर खड्का, इलाम– २
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पहिलो पटक कांग्रेसका डम्बर खड्का चुनावी भिडन्तमा हुनुहुन्छ । २०५६ यताका सबै चुनावमा सफलता पाएका नेम्वाङले अघिल्लो पटक कांग्रेसका केशव थापालाई ९ हजार ६५२ मतान्तरले पराजित गर्नुभएको थियो । हेविवेट नेम्वाङसँग खड्काको यो भिडन्त रोचक हुनेछ । यहाँ
कांग्रेसको ३२ हजार ९७८, एमालेको ३२ हजार ५२७ र माओवादीको २ हजार ७१७ मत छ ।

खेलप्रसाद बुढाथोकी, ताप्लेजुङ
ताप्लेजुङबाट दोहोर्याएर टिकट पाएका एमाले सचिव योगेश भट्टराईलाई सत्ता गठबन्धनका माओवादी उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले चुनौती दिंदै हुनुहुन्छ । पहिलोपटक संसदीय अभ्यासमा आएका बुढाथोकी अघिल्लो चुनावमा भट्टराईलाई जिताउन हिड्नुभएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार भए पनि कांग्रेस भित्रको असन्तुष्टी बुढाथोकीका लागि महंगो पर्न सक्ने छ । एमालेको नेतृत्व तहका भट्टराई प्रतिस्पर्धि भएकाले पनि बुढाथोकीलाई केही असहज हुने अनुमान गरिएको छ । यहाँ एमालेको २४ हजार २९५, कांग्रेसको १८हजार २८४ र माओवादीको ४ हजार ४९७ मत छ ।

हरिकुमार राना, झापा– २
झापा २ मा अघिल्लो दिनमात्रै एमाले त्यागेर माओवादी प्रवेश गरेका हरिकुमार रानाले टिकट पाएसँगै पहिलो संसदीय अभ्यासमा हुनुहुन्छ । एमालेबाट टिकटको आकांक्षी रहेका राना अब एमालेकै पुराना नेता देवराज घिमिरेसँग भिड्दै हुनुहुन्छ ।

अर्जुनधारा नगरपालिकाका पूर्व मेयर राना र एमाले प्रदेश इन्चार्ज घिमिरे उम्मेदवारी मनोनयन भन्दा २४ घण्टा अघिसम्म एउटै दलमा रहेकाले यहाँको भिडन्त रोचक हुने देखिएको छ । रानाले अन्तिम समयमा एमाले त्याग्दा पूर्वसहकर्मी आमनेसामने भएका हुन् । नवआगन्तुक रानालाई एक्कासी टिकट दिएपछि माओवादी र कांग्रेसमा असन्तुष्टि छ । यहाँ एमालेको ३६ हजार ३९६, कांग्रेसको ३२हजार ६७२, राप्रपाको ९ हजार ५३१ र माओवादीको २ हजार ४३७ मत छ ।

यी बाहेक साना र स्वतन्त्रबाट समेत नयाँ उम्मेदवार छन् । पहिलो पटक निर्वाचनमा भाग लिएका र स्वतन्त्र उम्मेदवारी दिएकाहरु पनि चुनावी मैदानमा रहेकाले चुनावी भिडन्त थप रोचक हुने देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्