Main News

गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

हिमालय टिभी
२०७९ कार्तिक ७ गते ११:३८
गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

७ कात्तिक २०७९ भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् ।

यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै रु तीन करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिनुभयो ।

गतवर्ष मात्रै तीन हजार माला बिक्री गर्नुभएकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताउनुभयो । नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहनु भएको छ । किसानले माला प्रतिगोटा रु २५ देखि ३५ मा बिक्री गर्छन् ।

अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताउनुभयो । एक रोपनी जग्गामा फूलखेती गर्नुभएकी उहाँ यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा हुनुहुन्छ ।

गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन् । “मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न शुरु हुन्छ”, किसान मेनुका नगरकोटीले भन्न्भयो ।

स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।

चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ । फूल खेतीको पुख्र्यौली पेशा अङ्गाल्नु भएका किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताउनुभयो ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आउनु भएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताउनुहुन्छ । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *