ओलीले न्यायालयमाथि हस्तक्षेप गर्दा ईश्वर पोखरेल टुलुटुलु हेरेर बसेको पौडेलको आरोप
४ कात्तिक २०७९ काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ।
शुक्रबार काठमाडौं– ५ अन्तर्गत पर्ने बुढनीलकण्ठ नगरपालिका–५ इकाइले गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले ओली सरकारका पालामा सबैभन्दा बढी न्यायालयमाथि हस्तक्षेप भएको बताउँदै त्यसो हुँदा पनि सरकारमा सामेल भएकाहरुले त्यसको प्रतिरोध गर्न नसकेको टिप्पणी गर्नुभयो ।
काठमाडौं –५ बाट नेता पौडेलसँग प्रतिष्पर्धामा रहेका एमालेका ईश्वर पोखरेल सरकारमै सामेल भए पनि न्यायालयमाथि हस्तक्षेप हुँदा त्यस्को प्रतिरोध गर्न नसकेको आरोप लगाउनुभयो ।
‘न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो । उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गर्नुभयो । उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नु भयो ।’ उहाँले भन्नुभयो, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरु गर्नेछौँ ।’
त्यसैगरी उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाँबाट मुक्त राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेता पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उहाँले भन्नुभयो–‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम ? कसरी भ्रष्ट्राचार रोकिन्छ ।’
प्रतिक्रिया