राजनीति

पूर्वप्रधानमन्त्री थापाको गृह जिल्ला धनकुटाको मुगामा किन छैन चुनावी रौनक ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १ गते १८:०५
पूर्वप्रधानमन्त्री थापाको गृह जिल्ला धनकुटाको मुगामा किन छैन चुनावी रौनक ? (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७९ धनकुटा। धनकुटा जिल्लाको साविक मुगा गाविस जिल्ला राजनीतिमा धेरै पहुँच राख्ने क्षेत्र हो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गृह क्षेत्रसमेत रहेको मुगाबाट यो निर्वाचनमा समेत सबै भन्दा बढी उम्मेदवार छन् । तर, सोही क्षेत्रका जनतालाई भने न निर्वाचन लागेको छ न उम्मेदवारबारे नै कुनै चासो छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा निर्वाचनको लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । सात जना मध्ये तीन जना तत्कालीन मुगा गाविसका छन् ।

प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट उमेदवारी दर्ता गराउनु भएको नेता सुनिलबहादुर थापा, एमालेबाट दर्ता गराउने राजेन्द्र राई तथा राप्रपाबाट दर्ता गराउने कुमारबहादुर थापा यही क्षेत्रबाट हुनुहुन्छ । अघिल्ला निर्वाचनमा समेत थापा र राई एकएक पटक विजयी भइसक्नु भएको छ । तर, यहाँका मतदातालाई भने यो कुराको कुनै अर्थ छैन ।

अहिले पनि मुगाका धेरै स्थान स्वास्थ्य, शिक्षा, सडक पहुच सहित जिबिकोपार्जन र रोजगारीको विषयमा निक्कै पछि छ । रोजगारी र सुविधाको लागि बसाइँ सर्नेको लर्को पनि उत्तिकै छ । राजनीतिक दललाई जनताका सुख दुःखको कुनै महत्व नभएको मतदाताको आरोप छ ।

तर, पनि मुगावासी आशावादी हुन छाडेका छैनन् । अहिले पनि जित्ने उम्मेदवारले आधारभूत आवश्यकता पूर्ति गरिदियोस् भन्ने उनीहरूको अपेक्षा छ ।

राष्ट्रिय राजनीतिमा धनकुटाको योगदान छ । तर, राजनीतिक दलले भने धनकुटाका मतदाताको कहिले कदर नगर्दा आधारभूत आवश्यकता पनि ओझेलमा पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्