Main News

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

२०७९ असोज ३१ गते १४:४४
शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

३१ असोज २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताउनुभएको छ ।

प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उहाँले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको उल्लेखनीय उपलब्धि हरेक नेपालीले गर्व गर्न लायक रहेको बताउनुभयो । “नेपाल प्रहरी आजको यस अवस्थामा आइपुग्नुको पछाडि नेतृत्व पङ्क्तिमा रहेका पूर्ववर्ती पदाधिकारीको समर्पण तथा अमर प्रहरीको बलिदानले मुख्य भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “करिब सात दशक लामो इतिहास बोकेको प्रहरीले आजको अवस्थामा आइपुग्दा आफूलाई एक व्यावसायिक, दक्ष, अनुशासित र कतव्र्यपरायण राष्ट्रसेवकका रुपमा स्थापित गर्न सफल भएको छ ।”

आन्तरिक तथा बाह्य सुरक्षा, सार्वभौम सत्ताको संरक्षण, जनताको सुरक्षालाई मध्यनजर राख्दै सरकारले मुलुकभर शान्ति, सुरक्षा अमनचयन कायम गर्ने र भयरहित वातावरण निर्माण गर्न जोड दिँदै आएको उहाँले बताउनुभयो । “शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले आफ्नो जीउज्यानको प्रवाह नगरी तोकिएको जिम्मेवारी पूरा गर्न अहोरात्र खटिने प्रहरीको योगादनको उच्च प्रशंसा गर्नुभयो । “आपतविपत्मा परेका नागरिकले सर्वप्रथम सम्झने भनेकै प्रहरीलाई हो । अशक्त, असहाय जोखिममा परेका, अपराधबाट पीडित बनेका नागरिकको साथी र उद्धारकर्ता नेपाल प्रहरी नै हो, सम्पूर्ण नागरिकको भरोसाको केन्द्र नै प्रहरी हो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी महाभूकम्पदेखि विश्वव्यापी महामारी कोरोना सङ्क्रमण, प्राकृतिक प्रकोप, विपद्का कुनै पनि घटनामा नागरिकको उद्धारका लागि प्रहरी, चिकित्साकर्मीले अग्रपङ्क्तिमा रहेर निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको देशभित्र मात्रै होइन विदेशमा पनि प्रशंसा हुँदै आएको छ । कार्यसम्पादनका क्रममा नेपाल प्रहरीले प्रदर्शन गरेको उच्च व्यावसायिकताले नै प्रशंसा आर्जन गर्न सफल भएको हो ।”

अन्तर्राष्ट्रिय शान्ति सुरक्षाप्रति नेपालको प्रतिबद्धतालाई शीरोधार्य गरी संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा प्रहरीका जवान र अधिृकत परिचालित रहेको जनाउँदै उहाँले आगामी दिनमा शान्ति मिसनमा नेपाल प्रहरीका कर्मचारीको सहभागिता र प्रतिनिधित्व बढाउन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले प्रहरीको सबै सेवालाई प्रविधिमैत्री बनाउन निर्देशन दिनुभयो । “आजको युग सूचना र प्रविधिको युग हो । परम्परागत पद्धतिलाई समयानुकूल बनाउँदै सूचना र प्रविधिले सुसज्जित तुल्याउँदै सङ्गठनको प्रभाकारिता बढाउनुपर्नेछ”, उहाँले भन्नुभयो ।

अपराध नियन्त्रण र अनुसन्धानको मूल जिम्मेवारी प्रहरीको भएको जनाउँदै उहाँले प्रहरीले आफ्नो मूल दायित्व इमान्दारिताका साथ निर्वाह गरेमात्र राष्ट्रको शान्तिसुरक्षा मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले निष्ठावान् तथा पूर्णव्यावसायिक भई कसैको दबाब वा प्रभावमा नपरी प्रचलित ऐन नियमले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्न सकल दर्जालाई निर्देशन दिनुभयो ।

प्रहरीको कर्तव्यपरायणता र समस्याप्रति आफू जानकार रहेको उहाँको भनाइ थियो । सीमित स्रोतसाधन र कठिनाइका बीच प्रहरीले अब्बल क्षमता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्रोतसाधनयुक्त बनाई उचित तालिम दिनसकेमा प्रहरीले अझ उत्कृष्ट परिणाम दिन सक्नेमा कुनै शङ्का छैन भन्नुभयो ।

“गौरवमय इतिहास बोकेको नेपाल प्रहरीलाई आगमी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोत र साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रहरीलाई आधुनिकीकरण र सुदृढीकरण गर्न सरकारले प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने विश्वास उहाँले दिलाउनुभयो ।

नेपाल प्रहरीको सबै कर्मचारीको वृत्तिविकासलाई समयानकूल सुधार गरी सक्षम प्रहरी सङ्गठन निर्माणमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले यसका लागि आवश्यक योजना बनाउन गृह मन्त्रालयलाई निर्देशन दिनुभयो ।

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको जनाउँदै प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा गर्ने राज्यको पहिलो कर्तव्य पालना गर्न नेपाल प्रहरीले स्थापनाकालदेखि भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सीमित स्रोतसाधनका बीच प्रहरीले जनताको सुरक्षा गर्दै आइरहेको जनाउँदै उहाँले भूकम्प, कोरोना महामारी र प्राकृत्तिक विपत्तिमा उद्धार तथा राहतमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

“सीमित साधनस्रोतका बीच सरकारले खटाएको स्थान तथा नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा तत्काल प्रहरी पुग्ने गरेको छ, यसले जनताको रक्षा गर्न महत्वपूर्ण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको र आपराधिक गतिविधिमा प्रविधिको प्रयोगले सुरक्षा चुनौती थपेको उल्लेख गर्दै गृहमन्त्री खाणले प्रहरीको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले तत्पर रहेको बताउनुभयो ।

“प्रहरीको क्षमता अभिवृद्धि तथा मनोबल बढाउन, प्रहरी कर्मचारीको परिवारको जीवनयापन सहज बनाउन सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “प्रहरी जवान तथा जुनियर अधिकृतको मनोबल बढाउन वृत्तिविकासमा महत्वपूर्ण निर्णय भएका छन् ।”

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जनता तथा राष्ट्रको सुरक्षा, विश्वव्यापी महामारी, प्राकृतिक विपत्तिलगायत अवस्थामा खेलेको भूमिकाले प्रहरीको विश्वसनीयता बढेको बताउनुभयो । गत वैशाखमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कटिबद्ध रहेको बताउनुभयो ।

नेपालमा अपराध गरी विदेशमा लुकेर बसेका व्यक्तिलाई ‘इन्टरपोल’को सहायतामा नियन्त्रणमा लिइएको जनाउँदै उहाँले अघिल्लो आवको तुलनामा गत आवमा आपराधिक घटनाको दर्ता १७ प्रतिशतले बढे पनि कर्तव्य मुद्दाको सङ्ख्या घटेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीका एक छात्र/एक छात्रालाई ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति’ प्रदान गर्नुभएको थियो । प्रधानमन्त्रीले नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई ‘मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’, “अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ र अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट हुने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरलाई ‘पुलिस व्याटन’ प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी दर्पण २०७९ को लोकार्पण तथा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *