Main News

स्मार्ट बन्दैछन् खानेपानी संस्था , उपभोक्ता र व्यवस्थापकमा यसरी आयो परिवर्तन

२०७९ असोज ३० गते १२:४६
स्मार्ट बन्दैछन् खानेपानी संस्था , उपभोक्ता र व्यवस्थापकमा यसरी आयो परिवर्तन

३० असोज २०७९ काठमाडौं । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ ।

विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् ।

केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरण राखेर सेवा प्रदान गरिरहेका संस्था अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका छन् । हालसम्म देशभरका छ सयभन्दा बढी खानेपानी तथा उपभोक्ता समिति डिजिटलाइज भइसकेको सरकारी विवरण छ ।

हाल ६८ जिल्लाका ११ लाख घरधुरी र करिब ४६ लाख जनसङ्ख्यामा यस्तो डिजिटलाइज सेवा पुगिसकेको छ । ती समितिले दियालो टेक्नोलोजीले विकास गरेको वाटरमार्क नामक सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।

नेपालको फिनटेक कम्पनी दियालोले खानेपानीको क्षेत्रमा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्रविधिको विकास गर्दै आइरहेको छ । दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, जिन्सी व्यवस्थापन, लेखा प्रणाली, मानव संशाधन प्रणाली, पानी चुहावट विश्लेषण प्रणाली, प्रयोगशाला व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, भूमिगत तहको पानी विश्लेषण गर्ने प्रविधि, पानीको तह मापन गर्नेलगायतका प्रणाली तथा प्रविधिको विकास गरेको छ । यस्तै कतिपय प्रविधि निर्माणको अन्तिम चरणमा छन् । यी प्रविधि प्रयोग गरी खानेपानी संस्था डिजिटलाइज बन्नुका साथै अत्याधुनिक सेवा प्रदान गर्न सक्षम हुँदै गएका छन् । देशभित्रै सबैभन्दा ठूलो उपभोक्ता समितिमध्येको एक कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नवलपुरका व्यवस्थापक बाबुराम ज्ञवालीले प्रविधिको प्रयोगले आश्चर्यजनक परिवर्तन ल्याएको बताउनुभयो ।

मानिसले गर्नुपर्ने कतिपय काम सहजैरूपमा प्रविधिको प्रयोगबाट भएका छन् । पानी खोल्न वा बन्द गर्न प्रत्यक्षरूपमा जानु पर्दैन भने पानीको गुणस्तरसमेत पत्ता लगाउन सजिलो भएको छ । जमिनमुनिको पानीको सतहसमेत सेन्सरको सहयोगले पत्ता लगाउने गरिएको छ ।

कति समय पानी तानियोदेखि उपभोक्ताको घरमा के–कति पानी पठाइयो भन्ने विवरणसमेत मोबाइल एपको माध्यमबाटै हेर्न सकिने ज्ञवालीको भनाइ छ । उपभोक्ताले समेत पानीको बिल तिर्न खानेपानीको कार्यालय वा उपभोक्ता समितिको कार्यालय पुग्नु पर्दैन । मोबाइलमार्फत अनलाइन माध्यमबाटै बिल तिर्न सक्छन् । आगामी तीन महिनाभित्र कुनै पनि कामका लागि अब मानवीय उपस्थिति नै नभए पनि हुने गरी प्रबन्ध गर्ने गरी थप तयारी भइरहेको ज्ञवालीको कथन छ ।

प्रविधिको प्रयोगले खानेपानी संस्थाहरू परदर्शी र उपभोक्ताप्रति जवाफदेहीसमेत हँुदै गएको उपभोक्ताहरूको अनुभव छ । नेपालको वर्तमान नीतिअनुसार कुनै पनि खानेपानी योजना निर्माण गर्दा स्थानीय उपभोक्ता समितिको संलग्नता अनिवार्य रहेको छ । नेपालमा यस्ता उपभोक्ता संस्था ४२ हजार बराबर रहेका छन् ।

तीमध्ये करिब १६ हजार चार सय संस्था मात्र दर्ता छन् । दर्ता भएकामध्ये ११ हजार आठ सय २८ वटा संस्था सञ्चालनमा छन् । यीमध्ये पनि नियमित बैठक बस्ने, आवधिकरूपमा साधारणसभा गर्ने, संस्थाको हरहिसाब पारदर्शी राख्ने समिति त झन् निकै न्यून छन् । प्रविधिको प्रयोग नभएका समितिमा आवश्यक सही तथ्याङ्क निकाल्न समस्या हुने, निर्णय गर्न ढिला हुनेजस्ता समस्या देखिने गरेका छन् । परम्परागत ढङ्गले सञ्चालन हुँदा संस्थालाई चुस्तदुरुस्त राख्न नसक्ने, पारदर्शी नहुने, समितिमा विवाद हुनेजस्ता समस्या देखिँदै आएका थिए । त्यसलाई सही मार्गमा ल्याउन पनि प्रविधिको प्रयोग नै उत्तम विकल्प हुनसक्ने उपभोक्ता लक्ष्मण जोशीको भनाइ छ ।

प्रविधिको प्रयोग गर्दा ढड्डा, फाराम, रसिदजस्ता कगजी वस्तुको प्रयोग गर्दा जस्तो समस्या नआउने खानेपानी समितिका सञ्चालकको अनुभव छ । प्रविधिको प्रयोग भएका खानेपानी समितिले हाल चुस्तदुरुस्त सेवा मात्र दिएका छैनन् कि ती समितिमा पारदर्शिता कायम हुनुका साथै उपभोक्तामा जवाफदेही सेवासमेत भइरहेको छ ।

प्रविधिको प्रयोग गरेका खानेपानी समितिका उपभोक्तालाई समेत निकै सहजता भइरहेको छ । उपभोक्ताले आफ्नो खानेपानीको महसुलको बिल पनि आफ्नो मोबाइलबाटै जानकारी पाएका छन् । महसुल मोबाइलबाटै भुक्तानी गरिरहेका छन् । जसले गर्दा उनीहरूको समय र खर्च दुवै बचत भइरहेको छ । हाल मासिक तीन लाख ५० हजारभन्दा बढी घरधुरीले मोबाइलबाटै आफ्नो महसुल भुक्तानी गरिरहेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिकाका केही खानेपानी उपभोक्ता समितिले पनि यस्तै प्रविधिको प्रयोग गरेका छन् । चन्द्रागिरि नगर विकास समिति मातहतको खानेपानी, टोखा खानेपानी, महादेवस्थान र तीनथाना खानोपानीमा यस खालका प्रविधिको प्रयोग गरिएको छ । यसबाट आफूहरूलाई असाध्यै सहज भएको उपभोक्ता जोशीको अनुभव छ ।

यस्ता छन् खानेपानी क्षेत्रमा प्रयोग भएका सफ्टवेयर
मिटर रिडिङ मोबाइल एप ः मिटर रिडिङ मोबाइल एप हाल खानेपानी समितिमा सञ्चालनमा रहेको छ । मिटर रिडिङ मोबाइल एपले पिओएस मेसिनमार्फत घरघरमै पुगेर थर्मल पेपरमा ग्राहकले तिर्नुपर्ने रकम प्रिन्ट गरेर दिन्छन् । मिटर रिडिङ गरेको र रकम भुक्तानी लिएको विवरण कुनै पनि स्थानबाट सिधै सफ्टवेयरमा अपडेट हुन्छ । यस सुविधाबाट मिटर रिडिङ र महसुल सङ्कलनको कामलाई पारदर्शी बनाएको छ । यसअघि कागजी बिल प्रयोग गर्दा बिल हराउने, कार्यालयको ढड्डामा अपडेट गर्न बिर्सिनेजस्ता समस्या आउने गरेका थिए । सिधै सफ्टवेयरमा अपडेट हुने हुँदा यसबाट ग्राहक र खानेपानी समितिलाई काम गर्न सहज भएको छ ।

त्यस्तै बिलिङ व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यस प्रणालीमा ग्राहकको सम्पूर्ण जानकारी (केवाइसी) विवरण रहेको हुन्छ । यस प्रणालीमा खानेपानी महसुलको छुट तथा जरिवाना व्यवस्थापन हुन्छ । यसमा खानेपानीको दर पनि समावेश हुन्छ । यसबाट खानेपानीको उपभोग, आम्दानी विश्लेषण गर्नुका साथै ग्राहकको परिचयपत्र बनाउन सकिन्छ ।

पहिले–पहिले हरेक ग्राहकको छुट्टाछुट्टै फारम रहन्थे । ती फारम कहिले हराउने, कहिले च्यातिनेजस्ता समस्या आउँथे । फारम हराउने, अव्यवस्थित हुँदा आफ्नै ग्राहक हो कि होइन भनेर चिन्न नसक्ने अवस्था पनि आउँथ्यो । तर यस प्रणाली राखिसकेपछि सबै विवरण दुरुस्त हुन्छ ।

कसैले आफ्ना नजिकका व्यक्तिलाई ग्राहक नै नबनाई निःशुल्क पानी दिनसक्ने, आवश्यकताभन्दा बढी छुट दिनेजस्ता गलत क्रियाकलापलाई पनि यस प्रणालीले नियन्त्रण गर्छ । यो प्रणाली भएपछि ढड्डामा केरमेट गर्ने, हराउने समस्याको निराकरण हुन्छ भने एक क्लिकमा सम्पूर्ण विवरण प्राप्त गर्न सकिन्छ । यसमा खानेपानीको रकम कति उठ्यो, बक्यौता कति उठ्न बाँकी छ जस्ता कुरा सहजै राख्न सकिने हुँदा पारदर्शी हुन्छ ।

एसएमएस सिस्टमले ग्राहक र समितिका बीचमा पुलको काम गरेको छ । यसअघि साधारणसभा गर्नुपरेमा अथवा कुनै सूचना ग्राहकका बीचमा पु¥याउनुपरेमा सबै ग्राहकलाई पत्राचार गर्नुपर्दथ्यो । तर अहिले यस सिस्टमले सबै ग्राहकका बीचमा एसएमएसमार्फत एकैपटक सूचना सम्प्रेषण गर्न सकिन्छ । साथै यस प्रणालीले खानेपानीको महसुल नतिरेको अवस्था अथवा जरिवाना लागेको अवस्थामा सिस्टमले नै सूचना उपलब्ध गराउँछ ।

अनलाइन भुक्तानी
अनलाइन भुक्तानी प्रणालीले गर्दा आम उपभोक्तालाई महसुल भुक्तानी गर्नका लागि खर्चनुपर्ने समय र खर्चको बचत भएको छ । खानेपानी समितिका कार्यालय केही किलोमिटरको दूरीमा हुँदा सवारीसाधन चढेर कार्यालयमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । उपभोक्ताले आफ्नो मोबाइलमार्फत सहजै खानेपानीको महसुल भुक्तानी गर्न सक्छन् । हाल ६० भन्दा धेरै बैंक तथा वित्तीय संस्था, इसेवा, खल्ती, आइएमईलगायतका भुक्तानी प्रदायकमार्फत सहजै महसुल भुक्तानी गर्न सकिन्छ । खानेपानी क्षेत्रमा रहेका विभिन्न प्रणालीमध्ये लेखा प्रणाली पनि एक प्रमुख प्रणाली हो । हाल यो प्रणाली सञ्चालनमा रहेको छ । यो प्रणालीले संस्थाको आम्दानी खर्च, सम्पत्ति दायित्व, नाफा–नोक्सान, आर्थिक अवस्थालगायतका सबै विवरण हेर्छ । यो प्रणाली नेपाल लेखामानकअनुसार विकास गरिएको छ । यो प्रणाली खानेपानी सफ्टवेयर, एसएमएस, मिटर रिडिङलगायतका सबै प्रणालीसँग जोडिएको हुँदा यसले हरेक विषयलाई पारदर्शी बनाउन सहयोग पुगेको दियालो टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत परशुराम (पीआर) खनालको भनाइ छ । यो प्रणाली क्लाउड बेस टेक्नोलोजीमा आधारित रहेको हुँदा सञ्चालक समिति अथवा खानेपानी व्यवस्थापकले कुनै पनि स्थानमा बसेर संस्थाको हिसाब–किताब हेर्न सक्ने उहाँको भनाइ छ ।

जिन्सी व्यवस्थापन प्रणालीमार्फत संस्थामा कुन सामान, कति मात्रामा मौज्दात छ, कति खरिद–बिक्री भए, कति फिर्ता भए, कति मर्मतसम्भारमा प्रयोग भएजस्ता सबै विवरण उल्लेख हुने हँुदा जिन्सी तथा सामानको अपचलन हुने कुरालाई निराकरण गर्छ । मौज्दात परीक्षण गर्न सकिने सुविधाले मौज्दात नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको प्रमुख कार्यकारी अधिकृत खनाल बताउनुहुन्छ ।

त्यस्तै भौगोलिक सूचना प्रणालीले खानेपानीको प्रसारण र वितरण पाइपलाइन तथा अन्य संरचनाको भौगोलिक अवस्थितिको जानकारी दिन्छ । यसैगरी मर्मतसम्भारका लागि पाइपलाइन गाडिएका स्थान, च्याम्बर, भल्व, ट्याङ्की, ग्राहकको घरजस्ता खानेपानीका सम्पत्तिलगायतका सबै विवरण उपलब्ध गराउँछ ।

पानी चुहावट विश्लेषण गर्ने प्रविधि पनि हाल सञ्चालनमा छ । यसमा स्रोतबाट खानेपानी कति उत्पादन भयो, ट्याङ्कीमा पानी कति जम्मा भयो, उपभोक्ताले कति उपभोग गरे र कति चुहावट भयो भन्ने सबै कुरा उल्लेख हुन्छ । यसले दिने तथ्याङ्कका आधारमा चुहावट भइरहेको स्थानसमेत सहजै पत्ता लगाउन सकिने खनालको भनाइ छ । त्यस्तै पानी ट्याङ्की सफा गर्दा कति पानी खेर गयो, उत्पादन र उपभोगको विश्लेषणलगायतका सबै विवरण हेर्न सकिन्छ । पानी चुहाहट नियन्त्रण गर्न सहज हुने हुँदा घर–घरमा खानेपानीको आपूर्ति बढाउन सहयोग पुग्छ ।

यसैगरी प्रयोगशाला व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यसले खानेपानीको स्रोत, वितरण प्रणालीका विभिन्न खण्डमा खानेपानीको गुणस्तर स्वचालितरूपमा मापन, विश्लेषण तथा सम्प्रेषण गर्दछ । यसमा आम उपभोक्ताले मोबाइबाटै आफूले प्रयोग गरिरहेको पानीको गुणस्तर हेर्न सक्छन् । जसले गर्दा हरक्षण खानेपानीको गुणस्तर मापन भइराख्छ भने शुद्ध र सफा पानी उपभोग गर्न पाइन्छ ।

पम्प कन्ट्रोल प्रणालीले स्वचालितरूपमा पम्प अन र अफ गर्छ । यसअघि पम्प खोल्न वा बन्द गर्न निरन्तररूपमा जनशक्ति लाग्थ्यो । तर यो प्रणाली जडान गरेपछि पम्प अन अफ गर्न कुनै मानिसको आवश्यकता पर्दैन । यसले ट्याङ्की खाली हुँदा अटोमेटिकरूपमा पम्प अन हुन्छ भने ट्याङ्की भरिएपछि आफैँ अफ हुन्छ । जसले गर्दा पम्प सञ्चालन नहुँदा पानी नपाइने र पानी भरिएपछि खेर जानेजस्ता समस्याको निराकरण हुने गरी प्रविधिको विकास गरिएको दियालो टेक्नोलोजिजको भनाइ छ । यस प्रणालीमा पम्पबाट कति पानी उत्पादन भयो, पम्प कति घण्टा चल्योजस्ता सबै विवरण हेर्न सकिन्छ भने पम्प सञ्चालन खर्चमा समेत कमी आउँछ । पम्पलाई मोबाइल र सफ्टवेयरबाट नियन्त्रण गर्न सकिन्छ ।

ग्राहक गुनासो व्यवस्थापन प्रणालीले मोबाइल एपमार्फत नै ग्राहकले आफ्ना गुनासो राख्न सक्छन् भने कर्मचारीले गुनासाको समाधान गर्छन् । समितिले संस्थामा के–कति र कस्ता गुनासा आएका छन्, कति सम्बोधन भए भनेर सबै विवरण हेर्न सक्छन् । यसले गर्दा संस्थालाई जवावदेही बन्न सहयोग पु¥याउँछ ।

भूमिगत पानीको तह विश्लेषण
यस प्रणालीले जमिनको सतहमुनि कति पानी छ, यो पानीले कति समयसम्म पुग्छ, जमिनमा पानी पुन जम्मा भइरहेको छ कि, छैन जस्ता कुराको विश्लेषण गर्छ । पानीको स्रोत कति घटिरहेको छ, हरेक महिना, वर्ष कति पानी घटिरहेकोे छ, पानी सुक्दै गइरहेको छ या पुनः जम्मा पनि भइरहेको छ भन्ने कुराको विश्लेषण हुने हुँदा पानीको स्रोत कहिले सुक्न सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । यसले गर्दा भविष्यमा आउने पानीको सङ्कट समाधान गर्न वैकल्पिक स्रोत व्यवस्थापनमा रणनीति बनाउन सकिन्छ ।

मोबाइल एप
ग्राहक र खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाइल एप्लिकेशनको विकास गरिएको खनालले बताउनुभयो । ग्राहकका लागि ग्राहक सूचना प्रणाली र सञ्चालक तथा व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको छ । ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एपबाटै महसुल भुक्तानी गर्ने, संस्था र समितका सम्पर्क नम्बर हेर्ने, खानेपानीको महसुल विवरण हेर्ने, मिटर रिडिङ विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्नेजस्ता कुरामा सहजता ल्याएको उहाँको भनाइ छ । खानेपानी ज्ञान प्रणालीले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरू बिलिङ, महसुल सङ्कलन, लेखा, जिन्सी, गुनासो, पानी चुवाहट, गुणस्तर, पम्प नियन्त्रण, कर्मचारीलगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाइलबाटै प्राप्त गर्न सकिन्छ ।

इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर जस्तो प्रविधि पानीको स्रोतमा जडान गर्दा स्वचालितरूपमा प्रतिसेकेण्ड कति पानी उत्पादन भएको छ भनेर वास्तविक समयमै जानकारी पाउन सकिन्छ । जसका आधारमा उत्पादनको मात्रा विश्लेषण गरी पानी आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ ।

ट्याङ्कीको पानी तह मापन प्रविधिले खानेपानी ट्याङ्कीमा कति पानी छ भनेर हेर्न सकिन्छ । यस आधारमा कति वितरण गर्ने, कति पानी स्रोतबाट थप्ने, घटाउने आदि कुराको नीति बनाउन सहज बनाउँछ । खानेपानी क्षेत्रका संस्थालाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउन दियालो टेक्नोलोजीले निकट भविष्यमै स्मार्ट मिटर प्रविधि, खानेपानीको स्रोतको सुरक्षा प्रणाली, खानेपानी मर्मतसम्भार प्रणाली, गेटभल्भ अटोमेशनजस्ता प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *