Main News

कांग्रेसको घोषणाले गठबन्धनमा गडबड शुरु हुने टिकाटिप्पणी (भिडियो रिपोर्टसहित)

२०७९ असोज २९ गते २१:३६
कांग्रेसको घोषणाले गठबन्धनमा गडबड शुरु हुने टिकाटिप्पणी (भिडियो रिपोर्टसहित)

२९ असोज २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मंसिर ४ पछि आफ्नै पार्टीको नेतृत्वमा ५ वर्ष स्थिर सरकार चलाउने घोषणा गरेको छ । कांग्रेसको यो घोषणाले गठबन्धनमा गडबड शुरु हुने टिकाटिप्पणी हुन थालिसकेको छ ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाई नजिकको मत पायो । जसको मूल कारण थियो, उसले दिएको स्थिरताको नारा । अहिले निर्वाचनको संघारमा सत्तारुढ दल नेपाली कांग्रेसले पनि स्थिर सरकारको मुद्दालाई घोषणापत्रमार्फत अघि सार्ने भएको छ । उसले मंसिर ४ पछि कांग्रेस नेतृत्वमै आगामी ५ वर्षका लागि सरकार बनाउने भन्दै स्थिरताकै कार्ड फाल्न खोजेको छ ।

नेपालका राजनीतिक दलहरुले स्थिरताको नारा लगाएको यो पहिलो पटक भने होइन । तर, अवसर पाउँदा दलहरु पटक पटक चुकेका छन । उसो त, भावी प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन मुख्य सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि हेरिन्छ ।

दुवै दलका नेताले आ(आफ्ना पार्टी प्रमुखलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै आएका छन् । तर, दुबैलाइ एक–अर्का भर आवस्यक पर्छ । कांग्रेसले आगामी सरकार ५ वर्ष कांग्रेस नेतृत्वमा हुने दाबी गरिरहँदा माओवादी अहिलेनै त्यो कुरा स्वीकार गरेर समर्थन गर्न तयार देखिँदैन ।

सत्तागठबन्धनलाई भावी सरकारको नेतृत्वको विषयसँग जोड्दा सिट बाँडफाँडमा पनि समस्या नभएको होइन । कांग्रेसले माओवादीविना पनि सरकारको सम्भावना खोज्दा माओवादी आफू विना नयाँ सरकारको कल्पना गर्न नसक्ने अवस्था बनाउन तल्लिन देखिन्थ्यो । अहिले सत्तागठबन्धनमा दलहरु मौन देखिए पनि भावी नेतृत्वको विषय मंसिर ४ पछि बल्झन सक्ने विश्लेषकको टिप्पणी छ ।

चुनावमा मतदाता आकर्षित गर्न दलहरुले दिने नाराहरु लोकप्रिय सुनिन्छन् । त्यस्तै मध्येको बिक्ने नारा स्थिरताको पनि हो । अहिले कांग्रेसले अघि सार्न खोजेको नाराले मतदाता आकर्षित गर्ला वा गठबनधनभित्र छिट्टै समस्या ल्याउला रु त्यो भने निर्वाचनपछिका दिनहरुमा खुल्दै जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *