राजनीति

कर्णाली प्रदेश : कांग्रेस उपसभापतिलाई किन छ चुनौती? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज २९ गते २१:३०
कर्णाली प्रदेश : कांग्रेस उपसभापतिलाई किन छ चुनौती? (भिडियो रिपोर्टसहित)

२९ असोज २०७९ काठमाडौं । प्रतिनिधिसभामा कुल १२ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा कांग्रेस उपसभापति, एकीकृत समाजवादी र माओवादीका उपमहासचिवसहित एमालेका प्रभावशाली नेता चुनावी मैदानमा छन् । कर्णालीका ८ क्षेत्रमा यो पटक रोचक भिडन्त हुँदैछ ।

हरेक निर्वाचनमा समृद्ध कर्णालीको नारा लागे पनि सहरी क्षेत्रबाहेक कर्णालीमा उल्लेख्य विकास हुन सकेको छैन । कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा सडक पहुँच पुग्न नसक्दा कतिपय स्थानीय उत्पादन खेर जाने गरेको छ ।

स्याउ, ओखर सहितका फलफूल र अमुल्य जडिबुटीसहित जलस्रोतको समेत धनी कर्णालीको समृद्धि र विकासको आश्वासनसहित यसपटक पनि दलका नेताहरु चुनावी मैदानमा छन् । कर्णालीमा एमाले एक्लै चुनावी मैदानमा हुँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ ।

हेरौं कर्णालीमा रोचक भिडन्त हुने ८ निर्वाचन क्षेत्रको अवस्था ।

सुर्खेत– १ मा फेरि खड्का–शाही भिडन्त
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का अघिल्लो पराजयको घाउ मेट्ने प्रयासमा हुँदा एमालेका ध्रुवकुमार शाही दोस्रो जितको रणनीतिमा लाग्नुभएको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने खड्कालाई यो पटक सत्ता गठबन्धनको साथ छ । अघिल्लो पटक ३ हजार ३ सय ८२ मतले खड्कालाई हराएका शाही पनि आफू जित्नेमा ढुक्क देखिनुभएको छ । कांग्रेस नेता खड्का र अर्का नेता हृदयराम थानीबीचको टकरावका कारण यस क्षेत्रको निर्वाचन परिणाममा केही असर पर्ने अनुमान गर्न सकिन्छ । यहाँ कांग्रेसको ३६ हजार ९२८ र एमालेको ३५हजार ८४३ मत छ । माओवादीको ५ हजार ७५ मत निर्णायक देखिन्छ ।

सुर्खेत–२ मा थानीका प्रतिस्पर्धी फेरिए
अघिल्लो चुनावमा एमालेका नवराज रावतसँग ८ हजार ८ सय १ मतले पराजित कांग्रेस नेता हृदयराम थानीको प्रतिस्पर्धी फेरिएका छन् । एमालेले रावतको साटो जिल्ला अध्यक्ष अमृतबहादुर बुढा क्षेत्रीलाई टिकट दिएको छ ।

यहाँ बलियो देखिएको एमालेसँग ३० हजार ४६९ र कांग्रेससँग २९ हजार ५४० मत छ । राप्रपाको समेत ४ हजार हाराहारी मत रहेको यहँँ माओवादीको मत निर्णायक मानिएको छ ।

सल्यानमा ज्वालासँग रायको टक्कर
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको भिडन्त एमालेका राजेन्द्रवीर रायसँग हुँदैछ । एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका ज्वालासँग राप्रपाबाट नवप्रवेशी रायको भिडन्त हुन लागेको हो । कमजोर मताधार भएको दललाई टिकट दिइएको भन्दै सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसमा असन्तुष्टि देखिँदा ज्वालालाई सकस हुने देखिन्छ । यहाँ कांग्रेसको ३३ हजार ६१६, माओवादी र एमालेको समान २६ हजार मत रहँदा ज्वालाको दल एकीकृत समाजवादीको भने ९ हजार ४६७ मत छ ।

जाजरकोटमा शक्तिको भिडन्त आचार्यसँग
एमालेको सहयोगमा अघिल्लो चुनावमा कांग्रसका राजिवविक्रम शाहलाई ८ हजार ९ सय ९२ मतान्तरले पराजित गरेका शक्तिबहादुर बस्नेत यो पटक एमालेका युवा नेता निरज आचार्यसँग भिड्दै हुनुहुन्छ । जाजरकोटबाट लगातार विजयी हुँदै आएका बस्नेतको विजयी यात्रामा यो पटक कांग्रेसको असन्तुष्ट समुहको मत निर्णायक बन्ने छ । एमालेबाट उम्मेदवार भएका आचार्य युवा पुस्ताका भएकाले पनि मतदाताको ध्यान तान्न सक्ने देखिन्छ । यहाँ एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२ र माओवादीको १८ हजार ६२२ मत छ ।

कालिकोटमा पूर्वमुख्यमन्त्रीसँग एमालेका नयाँ अनुहार
अघिल्लो चुनावमा वाम गठबन्धनबाट माओवादीका दुर्गबहादुर रावतले कांग्रेसका भुपेन्द्रजंग शाहीलाई ४८११ मतले हराएको कालिकोटमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री माओवादी नेता महेन्द्रबहादुर शाही र एमालेका नगीन्द्र शाहीबीच प्रतिस्पर्धा हुँदैछ । माओवादीका शाहीले टिकट पाएसँगै कांग्रेसको असन्तुष्ट समुहको मत निर्णायक बन्ने देखिएको छ । मतका आधारमा कालिकोटमा माओवादी नै पहिलो शक्ति रहेको छ । यहाँ माओवादीको १८ हजार ३४७, कांग्रेस १२ हजार ८२० र एमालेको १२ हजार ६१३ मत छ ।

रुकुम पश्चिममा शर्मासँग देवकोटा
निरन्तर विजयी हुँदै आएका माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग एमालेका नन्दराम देवकोटा भिड्दै हुनुहुन्छ । विचौलियासँगको मिलेमतोमा बजेटमा करको दायरा हेरफेर गरेको आरोपमा छानबिनपछि पुन अर्थमन्त्री भएका शर्मालाई चुनावी भिडन्त भने अनुकुल छ । गत स्थानीय तह निर्वाचनमा जिल्लाका चारै पालिकामा कांग्रेस(एमाले गठबन्धन हुँदा पनि माओवादी विजयी भएको थियो । यो चुनावमा शर्माले कांग्रेसको पुरै मत पाउने अवस्था देखिदैन । यहाँ माओवादीको ३७ हजार १०२ मत हुँदा कांग्रेस २६ हजार ६२० र एमाले ६ हजार १२४ मत छ ।

डोल्पामा बुढा र शाही भिडन्त
एमालेबाट सँगै एकीकृत समाजवादीमा पुगेका निवर्तमान सांसद धनबहादुर बुढा र एकीकृत समाजवादी छाडेर पुन एमाले फर्किएका गणेशबहादुर शाहीबीच रोचक भिडन्त हुँदैछ । पार्टी विभाजनका बेला एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र मानीने बुढा एकाएक माधव नेपालको पक्षमा खुलेका थिए । शाही कुनै बेला नेपाल निकट मानिन्थे । यहाँ सत्ता गठबन्धनले बुढालाई साथ दिँदा एमालेका शाहीसँग रोचक भिडन्त हुँदै छ । यहँँ माओवादीको ४ हजार ८५५, एमालेको ४ हजार ५४५, कांग्रेसको ३ हजार ६९ र बुढाको दल एकीकृत समाजवादीको १ हजार ३३४ मत छ ।

दैलेख–१ मा शर्मालाई थापाको चुनौती
अघिल्लो चुनावमा कांग्रेस समर्थनमा उठेका राप्रपाका दीपक शाहीलाई ६ हजार ५४४ मतान्तरले पराजित गरेका एमालेका रवीन्द्र शर्मा दोस्रो जितको योजनासहित चुनावी मैदानमा हुँदा कुनैबेला उहाँकै सहकर्मी रहेका अम्मरबहादुर थापा सत्ता गठबन्धनको समर्थनमा एकीकृत समाजवादीबाट उम्मेदवार हुनुहुन्छ ।

कर्णाली प्रदेशसभामा एमालेको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थापालाई टिकट दिइएसँगै दैलेखमा कांग्रेस असन्तुष्ट छ । यहाँ कांग्रेसको २० हजार ३४४, एमालेको १९हजार ६१ मत हुँदा एकीकृत समाजवादीको ५ हजार ५२९ मात्रै मत छ । कांग्रेस कार्यकर्ताको असन्तुष्टी चिर्न नसके थापालाई चुनाव महंगो पर्न सक्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्