राजनीति

लुम्बिनीका ११ क्षेत्र-भुसालको स्वतन्त्र यात्रादेखि एमाले-ए.समाजवादी र पूर्वलडाकुबीच रोचक भिडन्तसम्म (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज २८ गते २१:२४
लुम्बिनीका ११ क्षेत्र-भुसालको स्वतन्त्र यात्रादेखि एमाले-ए.समाजवादी र पूर्वलडाकुबीच रोचक भिडन्तसम्म (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ काठमाडौं । कुल २६ निर्वाचन क्षेत्र भएको लुम्बिनी प्रदेशमा एमालेका महासचिवदेखि कांग्रेस, माओवादी केन्द्र र राप्रपाका नाम चलेका नेता चुनावी मैदानमा छन् । घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारीदेखि एमाले(एकीकृत समाजवादीका माथिल्लो तहका नेतासम्मको रोचक भिडन्तले लुम्बिनीका ११ निर्वाचन क्षेत्र चर्चामा छ ।

रुपन्देही-१ मा विश्वकर्मालाई भुसाल चुनौती
रुपन्देही १, यो आम निर्वाचनमा घनश्याम भुसालका कारण यो क्षेत्र चर्चामा छ । यहाँ टिकट नपाएपछि एमाले पूर्वउपमहासचिव घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभयो, योसँगै एमाले सचिव छविलाल विश्वकर्मा सकसमा पर्नुभएको छ । यहाँ कांग्रेसको ३२ हजार ९९९, एमाले ३१ हजार ३९४, राप्रपाको १४ हजार ५५२ मत छ । यहाँ विश्वकर्मालाई राप्रपाको केही मत आउने सम्भावना छ ।

रुपन्देही-३ मा खाणलाई बोहोराको चुनौती
अघिल्लो पटक समानुपातिक सांसद बनेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण सत्ता गठबन्धनको उम्मेदवार बन्दा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा उम्मेदवार हुनुहुन्छ। यहाँ कांग्रेसको ३४ हजार १५३, एमालेको २९ हजार ४८ र राप्रपाको १३ हजार ३९७ मत छ । नेपालको राजनीतिका दुई चर्चित खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

अर्घाखाँचीमा रायमाझी-भुसाल भिडन्त
२०६४ सालदेखि निरन्तर जित्दै आएका एमाले सचिव टोपबहादुर रायमाझी र कांग्रेस नेतृ पुष्पा भुसालसँगको भिडन्त रोचक हुने अनुमान छ । सत्ता गठबन्धनको साथ पाएकी भुसाल र माओवादीबाट एमालेमा रहेका रायमाझीबीचको भिडन्तमा माओवादीकै मत निर्णायक हुने देखिन्छ । यहाँ एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५ र माओवादीको ७ हजार ७९० मत छ ।

रोल्पामा दुई कमाण्डरको भिडन्त
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एमालेबाट पूर्वमाओवादी कमाण्डर पूर्णबहादुर बुढामगरबीचको भिडन्त पनि रोचक हुने अनुमान गरिएको छ । माओवादी सशस्त्रयुद्धका सैन्य कमाण्डर र जनसेनाका लडाकुबीचको यो भिडन्तमा माओवादीकै मत निर्णायक हुने छ । माओवादीको आधार इलाकामा एमालेले रणनीतिक उम्मेदवार उठाउँदा वर्षमानलाई केही चुनौती हुन सक्छ । यहाँ माओवादीको ४० हजार ७९१, कांग्रेस २४ हजार ६६४ र एमाले १५ हजार ३०१ मत छ ।

प्यूठानमा पौडेल-थापा भिडन्त
अघिल्लो पटक वाम गठबन्धनबाट चुनाव जितेकी जनमोर्चाकी दुर्गा पौडेल यो पटक सत्ता गठबन्धनबाट उम्मेदवार बन्दा एमालेका सूर्य थापाले चुनौती दिँदै हुनुहुन्छ । पहिलो पटक संसदीय चुनाव उठेका थापा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । यहाँ एमाले ३९ हजार ८७७, कांग्रेसको २१ हजार ५६४ र माओवादीको १७ हजार १६३ मत छ ।

दाङ-१ मा पूर्वसहकर्मीको भिडन्त
एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेका सहरी विकास मन्त्री मेटमणि चौधरी, एमाले नेतृ शान्ता चौधरी र एमालेकी बागी गंगा चौधरीबीच रोचक भिडन्त हुँदै छ । यहाँ कांग्रेसको २९ हजार ७५७ र एमालेको २७ हजार २५ मत हुँदा एकीकृत समाजवादीको २ हजार ३४१ मात्रै मत छ ।

दाङ-२ मा पोखरेललाई शर्माको चुनौती
एमालेको भावी नेतृत्वका रुपमा हेरिएका महासचिव शंकर पोखरेल यो पटक संसदीय चुनाव लड्दै हुनुहुन्छ । दाङ २ मा पोखरेललाई सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी नेतृ रेखा शर्माले चुनौति दिँदै हुनुहुन्छ । यहाँ एमालेको ३३ हजार ५९३, कांग्रेसको २३ हजार ३०१ र माओवादीको १० हजार ४७८ मत छ ।

बाँके- २ मा राणाद्वयसँगै राई
यहाँ निवर्तमान जसपा सांसद मोहम्मद ईस्तियाक राई एकल प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेले राप्रपा महामन्त्री धवलशमशेर राणालाई साथ दिएको छ भने सत्ता गठबन्धनबाट कांग्रेसका सुदीपनरसिंह राणाबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । एमाले र जसपाबीच यहाँ तालमेल छैन । स्थानीय तह निर्वाचनमा कांग्रेसको १८ हजार ३७, एमालेको १५ हजार ४७८, जसपाको १३ हजार ८०९ र राप्रपाको ८ हजार ४९४ मत छ ।

गुल्मी-१ मा फेरि ज्ञवाली(भण्डारी
एमाले उपमहासचिव प्रदीप ज्ञवाली लगातार जितको खोजीमा हुँदा सत्ता गठबन्धनबाट कांग्रेस नेता चन्द्र भण्डारी अघिल्लो पराजयको बदला लिने रणनीतिमा हुनुहुन्छ । नेपाली राजनीतिमा बौद्धिक छवि बनाएका नेताद्वयको भिडन्तलाई चासोका साथ हेरिएको छ । स्थानीय तहमा यहाँ एमालेको ३५ हजार ७०१, कांग्रेस ३१ हजार २९४ र माओवादीको ४ हजार ९७० मत छ ।

गुल्मी-२ मा बिष्ट-झाँक्री भिडन्तमा भुसालको इन्ट्री
एमाले सचिव गोकर्ण विष्ट लगातार विजयी हुँदै आएको यो क्षेत्रमा विष्टकै पूर्व कार्यकर्ता रामकुमारी झाँक्री सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार बन्नुभएको छ । पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी झाँक्रीलाई कांग्रेसका बागी दामोदर भुसाल चुनौती बन्ने देखिन्छ । संसदीय राजनीतिका माहिर विष्टसँगको यो भिडन्त रोचक हुने छ । यहाँ एमालेको ३१ हजार २५३, कांग्रेस २९ हजार ८२१, माओवादी १ हजार ८४१ मत हुँदा झााँक्रीको दलसँग जम्मा ६५८ मत मात्र छ ।

पाल्पा- २ मा जनआन्दोलनका नेता गैरेको पहिलो उम्मेदवारी
२०६२र०६३ को जनआन्दोलनमा कांग्रेसका गगन थापासँगै एमालेका ठाकुर गैरेले गणतन्त्रको नारा लगाएका थिए । तर, गैरे पार्टी राजनीतिमा सधैं पछि पर्नुभयो । यस पटक माधवकुमार नेपालका सम्धी समेत रहेका सोमप्रसाद पाण्डे एकीकृत समाजवादीबाट उम्मेदवार भएसँगै एमालेबाट गैरेले अवसर पाउनुभएको छ । यहाँ एमालेको ३० हजार ५६६, कांग्रेस २९ हजार ०३९ मत हुँदा एकीकृत समाजवादीको उल्लेख्य मत छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्