प्रभु साह एमालेबाट निस्काशित, साहलाई सत्ता गठबन्धनको समर्थन
२८ असोज २०७९ काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा एमाले मधेस प्रदेशका सहइञ्चार्ज प्रभु साहलाई निष्कासन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले पार्टी विरोधी गतिविधि गरेको आरोपमा साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्नुभएको हो । साहसहित रौतहट जिल्ला इञ्चार्ज उपेन्द्र साह र सहइञ्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
एमालेले अर्को व्यवस्था नभएसम्मका लागि अहिलेका सहइञ्चार्ज उद्धव रेग्मीलाई रौतहट जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । सहइञ्चार्जको जिम्मेवारी रेखा झालाई दिइएको छ । प्रभु साहले रौतहटको निर्वाचन क्षेत्र नम्बर–३ बाट बागी उम्मेदवारी दिनुभएको छ ।
साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ । माओवादीका उम्मेदवार धीरज पटेललाई फिर्ता गराएर गठबन्धनले साहलाई समर्थन गर्ने भएको हो ।
एमालेले रौतहट जिल्ला कमिटी पनि विघटन गरेको छ । रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही व्यक्ति पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी समेत विघटन गरिएको छ ।
प्रतिक्रिया