राजनीति

कैलालीमा कांग्रेसका पन्त, एमालेका राना र स्वतन्त्रबीच यसरी हुँदैछ चुनावी भिडन्त (भिडियो रिपोर्टसहित)

२०७९ असोज २८ गते १५:०८
कैलालीमा कांग्रेसका पन्त, एमालेका राना र स्वतन्त्रबीच यसरी हुँदैछ चुनावी भिडन्त (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ कैलाली । कैलालीको चुनावी माहोल गर्मिएको छ । कैलाली–५ बाट यसपाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार काँग्रेस नेता डिल्लीराज पन्त चुनावी दौडमा हुनुहुन्छ भने एमालेबाट नारदमुनी राना दोहोरिनुभएको छ ।

त्यसमाथि कांग्रेसबाट पुस्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनिदिँदा कैलाली–५ को चुनावी दृष्य रोचक हुने भएको छ ।

२०७४ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ मा नेपाली कांग्रेसकी आरजु राणा देउवा र बाम गठबन्धनबाट एमालेका नारदमुनी रानाबीच चुनावी प्रतिस्पर्धा भयो । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी भएकाले पनि राणाले सहजै चुनाव जित्ने अनुमान थियो । तर, उहाँ पराजित हुनुभयो ।

यसपटक आरजुको स्थानमा साझा उम्मेदवार बनेर डिल्लीराज पन्त उठ्नुभएको छ । गत वर्ष सहज जित निकाल्नुभएका राणालाई यो पटक जित्न कठिन छ भने पन्तलाई पनि बागी उठेका पुस्करनाथ ओझा चुनौतीका रूपमा देखिएका छन् । तर, पन्त भने जित सुनिश्चित रहेको दावी गर्दै आउनुभएको छ ।

यता, ओझा भने धनगढीका जनताको स्वाधिनताका लागि चुनावमा होमिएकाले जित निश्चित भएको दाबी गर्नुहुन्छ ।

यता, राना भने जित्ने आधार आफूसँग रहेको दावी गर्दै आउनुभएको छ । पार्टीको सिद्धान्त, राष्ट्रियता र स्वाधिनताका लागि आफूले गरेको काम नै जित्ने आधार भएको बताउनुहुन्छ ।

गठबन्धन भएपनि कैलाली ५ मा स्वतन्त्र उम्मेदवार र कांग्रेसभित्रको अन्तरकलहले कसले जित्छ भन्ने आधार तय हुन मंसिर ४ नै कुर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *