Main News

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन आज

हिमालय टिभी
२०७९ असोज २६ गते ९:१०
उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन आज

२६ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार आयोगले आज दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि निर्धारण गरिएको छ । पार्टीले वितरण गरेको टिकटबाट असन्तुष्टहरूले बागी उम्मेदवारी दिएकाले तिनीहरूको उम्मेदवारी फिर्ता गराउने प्रयास राजनीतिक दलका नेताहरूले जारी राखेका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले हिजो संयुक्त सूचना जारी गरी बागी उम्मेदवारहरूलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । यदि फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन पछि आजै चुनाव चिह्न पनि वितरण गरिने कार्यतालिका रहेको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरूको चुनाव चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरूलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।

चुनाव चिह्न वितरणको काम भने आजै अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *