निर्वाचनका लागि उठेका उम्मेदवारको सूची आज प्रकाशन गरिने
२५ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज प्रकाशन गर्ने भएको छ ।
आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । हिजो उम्मेदवारहरूविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरूमाथि छानबिन गरी आज साँझसम्म नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ । आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेलदेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलगायत नेताविरुद्ध उजुरी परेको छ ।
आयोगले आज प्रकाशन गर्ने नामावलीहरूमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा फिर्ता लिन सकिने आयोगले जनाएको छ । त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५ सय २६ र प्रदेश सभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिक्रिया