राजनीति

प्रदेश-१ का २८ मध्ये १५ सिटमा शीर्ष भिडन्त, कस्को मत कति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज २४ गते २१:०२
प्रदेश-१ का २८ मध्ये १५ सिटमा शीर्ष भिडन्त, कस्को मत कति ? (भिडियो रिपोर्टसहित)

२४ असोज २०७९ काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेश-१ का २८ मध्ये १५ निर्वाचन क्षेत्रमा हेभिवेट नेताबीचको चुनावी भिडन्त हुने भएको छ ।

प्रदेश(१ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित प्रमुख दलका पदाधिकारीको रोचक भिडन्त हुने निश्चित भएको छ । हेरौं प्रदेश–१ मा रोचक हुनसक्ने निर्वाचन क्षेत्रबारे तयार पारिएको यो सामग्री ।

पाँच वर्षमा पनि नामकरण हुन नसकेको एक मात्र प्रदेश–१ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने भएको छ । २८ मध्ये १५ निर्वाचन क्षेत्रमा भने हेविवेट नेताको भिडन्त हुँदैछ ।

झापा-५ ओली-अधिकारी भिडन्त
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनपछि बहुमतसहित सिंहदरबार प्रवेशको योजनामा हुनुहुन्छ । झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दर्ता गराएका ओलीले २०६४ सालको पहिलो संविधानसभा बाहेक सबै चुनाव जित्नुभएको छ ।

यो पटक ओलीसँग सत्ता गठबन्धनबाट कांग्रेसका डाक्टर खगेन्द्र अधिकारी प्रतिस्पर्धामा हुनुहुन्छ । ओलीलाई राप्रपा र जसपाको साथ छ भने अधिकारीलाई माओवादी र एकीकृत समाजवादीले साथ दिएका छन् ।

इलाम–१ खनाल-बस्नेत भिडन्त
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम(१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुभएको छ । एक पटक बाहेक २०४८ यताका सबै चुनाव जितेका खनालविरुद्ध एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले उम्मेदवारी दिनुभएको छ ।

एमालेको गढका रुपमा रहेको यो क्षेत्रमा चुनावी भिडन्त रोचक हुने देखिन्छ । गत स्थानीय चुनावमा एमालेले २६ हजार २३३, कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४८१, जसपा १ हजार ८२९, माओवादीले १ हजार २३५, राप्रपाले १ हजार १६९ मत पाएका छन ।

झापा-३ लिङ्देन-सिटौला दोस्रो भिडन्त
अर्को रोचक भिडन्त हुने क्षेत्र हो झापा–३ । एमालेको समर्थनमा उम्मेदवारी दिएका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच दोस्रो भिडन्त हुन लागेको हो । गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले २५ हजार ९४९, राप्रपाले २१ हजार १५९, एमालेले २१ हजार ८५, माओवादीले ६ हजार ६८८ मत पाएका छन ।

झापा–१ शर्मा–खरेल भिडन्त
झापा–१ मा नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेलबीच पनि रोचक भिडन्त हुने भएको छ । लगातार दुई संसदीय चुनावमा पराजित शर्मा तेस्रो प्रयासमा जित निकाल्ने दाउमा हुँदा खरेल पनि राप्रपाको साथ र समर्थनमा जित्ने रणनीतिमा हुनुहुन्छ । स्थानीय तह चुनावमा एमालेले ३१ हजारर २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५ मत पाएका छन ।

पाँचथरमा फेरि नेम्वाङ-आङदेम्बे भिडन्त
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य बसन्त नेम्वाङ र नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेबीच फेरि प्रतिस्पर्धा हुँदैछ । गत स्थानीय निर्वाचनमा पाँचथरमा एमाले ३० हजार ९५८, कांग्रेस २५ हजार ६५, माओवादीले ११ हजार ८०८, जसपा २ हजार ६४३, नेकपा एकीकृत समाजवादीले २ हजार १६१, राप्रपाले १ हजार ९०९ मत प्राप्त गरेका छन ।

भोजपुरमा फेरि राई र किराँती भिडन्त
एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रदेश–१ का पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शेरधन राई र माओवादी नेता सुदन किराँतीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ । २०६४ मा राईलाई हराएका किराँती २०७० मा राईसँगै पराजित हुनुभएको थियो । स्थानीय तह चुनावमा एमालेले २७ हजार ६५६, कांग्रेसले २३ हजार ५९९, माओवादीले १४ हजार ७६१, नेकपा एकीकृत समाजवादीले १ हजार ९ सय ४५, जसपाले १ हजार ६४५ मत प्राप्त गरेका छन ।

धनकुटामा फेरि थापा र राई भिड्दै
अघिल्लो संसदीय चुनावमा करिब दश हजार मतान्तरले पराजित कांग्रेसका पूर्वसहमहामन्त्री सुनिल थापाको फेरि एमालेका राजेन्द्र राईसँग प्रतिस्पर्धा हुँदैछ । स्थानीय तहमा एमालेले ३६ हजार ३३६, कांग्रेसले २८ हजार १८२, माओवादीले ५ सय ४५८, एकीकृत नेकपा समाजवादीले २ हजार २ सय ९३, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८, राप्रपाले ३०४ मत पाएका छन ।

मोरङ–६ मा फेरि कोइराला(पण्डित भिडन्त
प्रदेश–१ को अर्को हेविवेट भिडन्त हुने क्षेत्र हो मोरङ–६ । अघिल्लो चुनावमा ६ सय ७५ को झिनो मतान्तरले पराजित कांग्रेस नेता शेखर कोइराला यो पटक एमालेका लालबाबु पण्डितसँग बदला लिने रणनीतिमा हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेस २७ हजार ८६, एमालेले २४ हजार ५ सय ५६, माओवादीले ४ हजार ९ सय ९६, जसपा ३ हजार ९३९, राप्रपा ३ हजार ११५, नेकपा एकीकृत समाजवादीले २ हजार ३५५, लोसपाले ८९५ मत पाएका छन ।

यस्तै मोरङ २ मा कांग्रेसकी पूर्व उपसभापति सुजाता कोइराला र एमाले नेता ऋषिकेश पोखरेलबीचको भिडन्त पनि रोचक हुने देखिन्छ । यस्तै मोरङ ३ मा एमालेका भानुभक्त ढकाल, कांग्रेसका सुनिल शर्मा र राप्रपाकी रेखा थापाबीच पनि प्रतिस्पर्धा हुने देखिएको छ । लगातार दुई पटक पराजित एमाले नेतृ भगवती चौधरी तेस्रो प्रयासमा कांग्रेसका विजयकुमार गच्छदारसँग बदल लिने योजनामा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्