Main News

यसवर्षको दसैँ आजदेखि सकिँदै

हिमालय टिभी
२०७९ असोज २३ गते ९:२६
यसवर्षको दसैँ आजदेखि सकिँदै

२३ असोज २०७९ काठमाडौं । यसवर्षको दसैँ आजदेखि सकिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात दसैँ हिन्दु नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आजको दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्नेहरूको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

यसैबीच दसैँ मनाउन गृह जिल्ला गएकाहरू फर्कनेक्रम बढेसँगै काठमाडौँमा चहलपहल बढेको छ ।

दसैँ मनाउन घटस्थापनाको दिनदेखि फूलपातीसम्ममा १७ लाखले काठमाडौँ उपत्यका छाडेका प्रहरीको तथ्याङ्क छ । आजदेखि अधिकांश कार्यालय तथा विद्यालय खुल्ने भएपछि उपत्यका छाडेर गएकाहरू फर्कन थालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *