Main News

देशका अधिकांश स्थानमा बाढी, तराईमा डुबान, सयौ नागरिक प्रभावित

हिमालय टिभी
२०७९ असोज २२ गते १३:१४
देशका अधिकांश स्थानमा बाढी, तराईमा डुबान, सयौ नागरिक प्रभावित

२२ असोज २०७९ काठमाडौं । अविरल वर्षा पछि तराईका अधिकांश भागमा बाढी र विभिन्न क्षेत्र डुवानमा परेका छन् ।

लगातारका वर्षासँगै आएको बाढीका कारण ठाउँठाउँका सडक भासिएका छन् भने पुलहरु बगाएका छन् । नारायणी नदी र अन्य खोलामा आएको बाढीका कारण पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् ।

पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेको जानकारी दिनुभयो । लगातार परेको वर्षापछि खसेको पहिरोका कारण जिल्लाको बौदिकाली र बुलिङ्गटारमा दुईवटा घर र बुलिङ्गटारमा एउटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाकै विनयी त्रिवेणी–१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा दुईसय हेक्टर बढी पाक्न लागेको धानबालीमा पूर्णरुपमा क्षति पुगेको छ । उता, मुस्ताङ घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक बिच बाटोमा नै अलपत्र परेका छन्। मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ ।

अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूल्ठूला ढुंगा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यता, कैलालीको भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन्।

भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरूले कैलालीमा बाढीले नागरिकको विचल्ली भएको छ। नदी र खोलामा आएको बाढीले दाङको देउखुरी उपत्यकाका बस्ती डुबानमा परेका छन् ।

राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरूवा, लट्ठहवा, डोडही, सिसहनियालगायतका गाउँ डुबानमा परेको छ । वर्षाले बाँकेको जनजीवन पनि प्रभावित भएको छ । राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका ३ सयभन्दा बढी बासिन्दा डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *