Main News

मङ्गलवारदेखि परिरहेको वर्षा, बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज २२ गते ९:००
मङ्गलवारदेखि परिरहेको वर्षा, बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु

२२ असोज २०७९ काठमाडौं । गत मङ्गलवारदेखि परिरहेको निरन्तरको वर्षाका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता रहेका छन् ।

लगातारको वर्षाका कारण हिजो काठमाडौँको चन्द्रागिरि नगरपालिका २ मा रहेको ध्यानकेन्द्रमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ मा बेपत्ता भएका ६ जनामध्ये एकजनाको शव फेला परेको छ ।

नुवाकोटमा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । प्यूठानमा बेपत्ता भएका अन्य ५ जनाको खोजी बिहानैदेखि शुरु गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकामा १ जना बेपत्ता भएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत २४ घण्टामा २९ वटा विपद्का घटना भएका छन् । जसमा १४ स्थानमा पहिरो झरेको छ भने ६ स्थानमा भारी वर्षा भएको छ ।

वर्षाका कारण देशभर ४० करोढभन्दा बढीको क्षति भएको छ । वर्षासँगै बबई नदीमा आएको बाढीले बर्दियामा एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने कैलालीमा बाढीले सैयौँ घर डुबानमा छन् ।

राप्ती नदीमा पानीको सतह बढेर दाङ्गको लमही नगरपालिका, वडा नं ८ सतवरिया स्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा साथै राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित सिसहनिया र वडा नं ४ को अर्नहवा गाउँ डुबानमा परेका छन् । करिब सय घर डुबानमा परेकामध्ये उच्च जोखिममा रहेका ३५ घरपरिवारलाई सुुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *