सत्ता गठबन्धनमा सिट बाँडफाँडको सहमति, लोसपासँग आज थप छलफल हुने
२२ असोज २०७९ काठमाडौं । सिट बाडँडफाँडको बारेमा छलफल गर्न थालेको २ महिनापछि सरकारमा रहेका राजनीतिक दलहरूले सहमति गरेका छन् ।
जसपा बाहिरिएपछि भित्रिएको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई कांग्रेसको भागबाट सिट दिने गरी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेश सभाको सिटको विषयमा गएराति सहमति जुटाएको हो ।
नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ९८ स्थानमा भने कांग्रेस र लोपसाबीच आज भागबन्डा हुने जनाइएको छ ।
लोसपाले प्रतिनिधिसभाका १५ स्थान माग गरे पनि प्रतिनिधिसभामा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक देखिएको लोसपाका एक नेताले जानकारी दिए । यद्यपि यस बारेमा आज छलफल गरेर टुङ्ग्याउने सहमति भएको छ ।
प्रतिक्रिया