Main News

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असोज २१ गते १०:००
आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

२१ असोज २०७९ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजबाट काठमाडौैं उपत्यका लगायतका स्थानमा मौसम विस्तारै सुधार हुँदै जाने बताएको छ ।

महाशाखाका अनुसार मौसमी प्रणाली विस्तारै पश्चिमतिर सर्दै जाने भएकाले मध्य भूभागमा मौसममा सुधार हुँदै जानेछ । महाशाखाले हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको बताएको छ ।

महाशाखाले आज बिहानैदेखि सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि जनाएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज राति भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै महाशाखाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *