Main News

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

२०७९ असोज २० गते १६:०५
वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

२० असोज २०७९ दमौली । दुईदिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वीराजमार्गका केही ठाउँमा पहिरा गएपनि अधिकांश खण्ड भने सञ्चालनमै छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । “उक्त ठाउँमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, अन्य ठाउँमा अवरोध छैन,” उहाँले भन्नुभयो । वर्षाका कारण पहिरा जाँदा आज नै धादिङको सुरुङमार्ग नजिक बाटो अवरुद्ध भएको थियो । त्यस ठाउँको पहिरो पन्छाएर राजमार्ग सुचारु गराइसकिएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनतर्फबाट धादिङ जाने बाटोमा कुनै अवरोध नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड पनि दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको सत्र किलोमा खसेको पहिरो हटाएर राजमार्ग यथावत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । “चितवनतर्फ र धादिङतर्फ जाने बाटो दुईतर्फी सञ्चालनमा छ,” उहाँले भन्नुभयो ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा भने केही अवरोध नरहेको तनहुँ प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिरा खस्ने सम्भावना भएकाले पहिरा पन्छाउन तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आरके सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार डुम्रे–वेँसीसहर सडकखण्डमा पनि अवरोध छैन । “पानी निरन्तर परिरहेकाले पहिरा जान सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरेका छौँ” उहाँले भन्नुभयो ।

ग्रामीण सडकहरु अवरुद्ध
दुई दिनदेखि परेको अविरल वर्षाका कारण पहिरा जाँदा तनहुँका केही ग्रामीण सडकहरु अवरुद्ध भएका छ्न् । निरन्तरको वर्षाका कारण पहिरा जाँदा दसैँमा सर्वसाधारणलाई समस्या भएको छ । पहिराका कारण तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी हुँदै जाने ग्रामीण सडक बगाएको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिनुभयो । भिमाद नगरपालिका–१, २ र ३ लाई जोड्ने छोटो बाटो पहिराका कारण अवरुद्ध भएको छ । “बाटो अवरुद्ध हुँदा दसैँमा टीका लगाउन जानेहरुलाई समस्या भएको छ,” उहाँले भन्नुभयो ।

पहिराका कारण ऋषिङका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिका–७ साङखोल्सीमा पहिरा जाँदा सडक अवरुद्ध भएको स्थानीय दानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “पहिरा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो । घिरिङ गाउँपालिका–३ खिलाका दुई ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको छ । गाउँपालिका कार्यालय र मानपुरको बीचमा गएको पहिरो हटाउन गाउँपालिकाले मेसिन लगाउन सुरु गरेको गाउँपालिकाका प्रेस संयोजक अन्जान परियारले जानकारी दिनुभयो । “पहिरो पन्छाएर बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।

निरन्तर वर्षा भइरहेकाले बाढीपहिराको जोखिम हुने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । बाढीपहिरा गई जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *