Main News

पहिरो खसेपछि विभिन्न सडकखण्ड अवरुद्ध

हिमालय टिभी
२०७९ असोज २० गते ९:२१
पहिरो खसेपछि विभिन्न सडकखण्ड अवरुद्ध

२० असोज २०७९ काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् ।

पाल्पा–गुल्मी सडकखण्डको रिब्दीकोट गाउँपालिका २, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँ पहिरो खसेको र अहिले निरन्तर पहिरो खसेकाले हटाउन समय लाग्ने देखिएको छ ।

सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारीसाधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारीसाधन र यात्रु बाटोमै रोकिएका छन् ।
स्याङजाको गल्याङ नगरपालिकाको झोल्पेमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ भने मुस्ताङको थासाङ गाउँपालिका ४ घोप्टेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्डमा ओहोरदोहोर गर्न समस्या भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ मा पहिरो खसेपछि त्रिभूली गल्छी सडकखण्ड पनि अवरुद्ध भएको छ । आज देशका धेरै ठाउँमा पानी पर्ने भएकाले पहिरो जोखिम अझै बढ्ने देखिएको छ ।

यस्तै निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पु¥याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको उहाँले बताउनुभयो । “यस सडक खण्डअन्तर्गत खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा गर्न सक्ने अवस्था छैन”, प्रजिअ आचार्यले भन्नुभयो, “योसँगै अन्य स्थानमा पनि कति बेला माथिबाट पहिरो खस्छ भन्ने थाहा नभएकाले यात्रा गर्न जोखिम रहेको छ ।”

पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकले यस विषम् परिस्थितिलाई ध्यानमा राखेर यात्रा नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रशासन कार्यालयले कसैले मनाङको अनुपम छटाले भरिपूर्ण प्रकृतिसँग रमाउनका लागि आफ्नो यात्रा तय गरेको भए सडक सञ्चालन भएको जानकारी लिएर मात्र योजना बनाउन पनि सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ ।

यस्तै सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् ।

त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ । मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादसैँमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैँ कष्टकर बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *