Main News

दसैंको सुरक्षा योजना किन सार्वजनिक गर्नुपर्ने ? गोप्य हुनु राम्रो होइन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १६ गते २०:५४
दसैंको सुरक्षा योजना किन सार्वजनिक गर्नुपर्ने ? गोप्य हुनु राम्रो होइन ? (भिडियो रिपोर्टसहित)

१६ असोज २०७९ काठमाडौं । प्रहरीले हरेक वर्षको दशैंमा चाडपर्व लक्षित विशेषा सुरक्षा योजना लागु गर्दै आएको छ । शहरी क्षेत्रलाई विशेष महत्व दिएर प्रहरीले अपनाउने सुरक्षा योजना सार्वजनिक पनि गर्दछ ।

कतिपय अवस्थामा गोप्य राख्नुपर्ने सुरक्षा योजना सार्वजनिक गर्नु आवश्यक नै हो त भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

दशैं, तिहारलाई लक्षित गरेर हरेक वर्ष नेपाल प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्दै आएको छ । के सुरक्षा योजना सार्वजनिक गर्नु उपयुक्त हो त ? प्रश्न उठ्ने गरेको छ । चाडपर्वका क्रममा संघीय राजधानी काठमाडौंबाट हजारौंको संख्यामा नागरिक बाहिरिने गरेका छन् ।

यस्तोबेला सुरक्षा चुस्त हुनुपर्छ । तर, चोरलाई साँचो भनेझैं प्रहरी प्रधान कार्यालयले नै परिचालन हुने सुरक्षाकर्मीको संख्या सहित योजना सार्वजनिक गर्ने गरेको छ । प्रहरीका विभिन्न इकाइले पनि पत्रकार सम्मेलन नै गरेर आफ्ना योजनाबारे जानकारी दिने गरेका छन् ।

सुरक्षा योजना सार्वजनिक गर्दा मनोवैज्ञानिकरुपमा नागरिकले सुरक्षित अनुभुति गर्ने तर्क गरिन्छ । प्रहरीले सार्वजनिक गर्ने सुरक्षा योजनाकै कारण कतिपय अपराधि सुरक्षा तयारीबाट तर्सिने र आफ्नो अपराधिक योजनाबाट पछि हट्न पनि सक्ने संभावना हुने पूर्वसुरक्षा अधिकारीको मत छ ।

तर, पहिले नै सुरक्षा योजना र रणनीति सार्वजनिक गर्दा अपराधकर्म गर्नेहरुले जानकारी पाउँछन् । उनीहरुले अपराधको योजना र रणनीति बदल्न सक्छन् ।

चाडपर्वमा अपराधकर्म बढ्ने गरेको प्रहरीकै तथ्यांकले देखाउँछ ।

दशैंरतिहारमा अपराधको अवस्था कस्तो छ त ?
२०७५ को दशैंतिहार– ८२९ आपराधिक घटना
२०७६ को दशैंतिहार–१०४३ आपराधिक घटना
२०७७ को दशैंतिहार– ८८५ आपराधिक घटना
२०७८ को दशैं– २८४ आपराधिक घटना

चाडपर्वका बेला चोरीरडकैतीदेखि कुटपिट र हत्यासम्मका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । विशेष सुरक्षा योजना लागु भएकै अवस्थामा चाडपर्वमा हुने सवारी दुर्घटनाबाट हुने ठूलो जनधनको क्षति सबैभन्दा चुनौतिका रुपमा रहने गरेको छ ।

दशैं मनाउन एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने यात्रुको सुरक्षा लागि विशेष रणनीतिक सुरक्षा जाँच गर्दै आएपनि दुर्घटनाको संख्यामा कमी नआउँदा प्रहरीको सुरक्षा योजना माथि नै प्रश्न उठ्ने गरेको छ । खचाखच यात्रु कोचेर कच्ची बाटोमा तीव्र गतिमा सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा चालकले आराम नपाउँदा पनि दुर्घटनाको जोखिम थप बढ्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *