राजनीति

कांग्रेसमा किचलो: मनोमानीमा विद्रोह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १५ गते २१:३९
कांग्रेसमा किचलो: मनोमानीमा विद्रोह (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको चियापान समारोहले विद्रोहको संकेत देखाएको छ । चुनावी सिट बाँडफाँटमा असन्तुष्ट नेता शेखर कोइराला समुहले उम्मेद्वार छनोटमा मनोमानी भए गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै विद्रोहको संकेत देखाएको हो ।

सत्तागठबन्धनभित्र अहिले सिट बाँडफाँडको रस्सकस्सी चलिरहेको छ । डेढ महिना लगातार सिट बाँडफाँड गर्न बनेको सत्तारूढ गठबन्धनको कार्यदलले गरेको गृहकार्य अन्तिम चरणमा छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा सिटकै विषयले संस्थापन र कोइराला समूहबीच विवाद बढिरहेको छ ।

कांग्रेसले ८६ सिट पाउने भएपछि त्यसमा ४० प्रतिशत हिस्सा माग्दै आएको शेखर कोइराला नेतृत्वको इतर समूहले आफूले भनेजस्तो नभए पार्टीभित्र विद्रोहको चेतावनी दिएको छ । यसअघि कोइराला समुहका दोस्रो तहका नेताले खबरदारीसभा र धर्ना गरिरहेका थिए । तर, त्यस्तो विरोधलाई संस्थापनले बेवास्ता गरेपछि इतरसमूहको शीर्ष नेतृत्व नै पार्टीभित्र विद्रोह हुने धम्कीमा उत्रिएको हो ।

समानुपातिकतर्फको बन्दसूचीमा इतरपक्षका १५ प्रतिशत भन्दा कम मात्रै समावेश छन् । त्यसबाट झस्किएको इतरपक्ष दबाब नबढाउने हो भने प्रत्यक्षतर्फ पनि पेलानमा पर्ने त्रासमा छ । धम्क्याएरै भएपनि गठबन्धनमा कांग्रेसको भागमा पर्ने सिटमा ४० प्रतिशत हिस्सामा इतर समूहको दाबा छ । तर, सभापति शेरबहादुर देउवा समानुपातिकमा जस्तै थोरै सिटमा मात्र इतरपक्षलाई समेट्ने दाउमा हुनुहुन्छ ।

पार्टीको महामन्त्री थापाले नै विद्रोहको चेतावनी दिएपछि संस्थापन समुहले सो अभिव्यक्ति गैरजिम्मेवार भएको बताइरहेको छ । कांग्रेसको पछिल्लो गतिविधिलाई नजिकबाट नियालिरहेका नेताहरू पनि पार्टीमा अहिले विद्रोह गर्ने साहस भएको नेता नै नरहेको टिप्पणी गर्छन् ।

आफूले भनेको नहुँदा विद्रोहको धम्कि दिने र कुरा मिल्नासाथ मौन बस्ने संस्कृति कांग्रेसभित्र नयाँ होइन । आफ्नै समुहभित्र अन्याय हुँदा बोलेन भन्ने दबाबकाबीच अहिले देखाउनका लागि मात्र विद्रोहको भाषा बोलिएको हो वा साँच्चै विद्रोह कै मूडमा इतर समूह हो रु त्यसको परीक्षा भने सिट बाँडफाँड लगत्तै हुनेनैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्