Main News

दसैँँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

२०७९ असोज १५ गते ७:२९
दसैँँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

१५ असोज २०७९ नुवाकोट । नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्नुहुन्थ्यो ।

उहाँलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ ।

उहाँले भन्नुभयो, “विशेष गरी विनाशकारी भूकम्प २०७२ ले ढुङ्गा माटोको घरलाई विस्थापित गराइ दियो । कङ्क्रीटका घर धेरै बने । रङरोगनले घर सजिएका छन् । दसैँको समयमा रातो र कमेरो माटोले सजिएका घर खोज्न गाउँ नै पस्नुपर्छ । त्यो पनि न्यून भेटिन्छ ।”

दसैँ भन्ने वित्तिकै पिङको सम्झना आउँछ । पिङमा पनि रोटे, जाते र लिङ्गे । विशेष गरी लिङ्गे पिङ वरपिपलको चौतारामा राखिन्न्थ्यो । पिङ खेल्न वल्लो–पल्लो गाउँका बालबालिकादेखि तन्नेरी आउँथे ।

पालो पाउनै गाह्रो हुन्थ्यो । तर अहिले सडक निर्माणको नाममा चौतारा मासिनुको साथै पिङ लोप हुने अवस्थामा पुगिसकेको गुनासो छ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख हरिप्रसाद गुरागार्इंको । “अधिकांश गाउँलाई सडक सञ्जालले छोएको छ । सडक निर्माणको क्रममा सार्वजनिक स्थानमा रहेका चौतारा मासिएका छन् । पिङ राख्ने परम्परा लोप हुने अवस्थामा पुगिसकेको छ”, दुप्चेश्वर गाउँपालिका–५ का बासिन्दा रहनुभएका गुरागाईंले भन्नुभयो, “श्रमदानमार्फत सामूहिक रुपमा सामाजिक काम गर्ने प्रचलन न्यून बन्दै गएको छ । सरकारमार्फत बजेट आओस् भन्ने अपेक्षा गरिन्छ । तर हामीले हाम्रो गाउँ पुग्ने सडकको स्तरोन्नति गर्र्न स्थानीयबाटै श्रमदान हुन्छ, चन्दा सङ्कलन हुन्छ । चार पाङ्ग्रे सवारीसाधन भएकाले पाँच हजार, दुई पाङ्ग्रे हुनेले दुई हजार र नहुनेले कम्तीमा पनि एक हजार रकम सङ्कलन गरेर सडक मर्मतको काम गर्छौँ ।”

दशैलाई चिउरा चाहिन्छ भनेर पाखो बारीमा घैयाँ धान लगाउँने प्रचलन समेत रहेको थियो । हरहर बास्नादार चिउराले दशैलाई नै सुगन्धित बनाउथ्यो । तर अहिले न त घैयाँ धानको खेती गरिन्छ, नत बास्नादार चिउराको प्रयोग नै ।

पढाई तथा रोजगारीको सिलसिलामा गाउँ छाडेकाहरु दशैको आगमनसँगै आफ्नो थातथलो फर्कने पक्ष अहिले कायमै छ । “अघिपछि आफ्नै काममा व्यस्त भइन्छ । आफ्नो एकल परिवार जहाँ जसरी रहेपनि दसैँमा आफ्नै पुख्र्योली थलो जाने गरेका छौँ”, स्याङ्जा घर भएका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भन्नुभयो, “दसैँ र गाउँ एकअर्का बीचको परिपुरक जस्तै लाग्छ । खाने र खेल्नेभन्दा पनि गाउँमा केही रचनात्मक क्रियाकलाप गर्नलाई अवसरको रुपमा दसैँलाई लिनु आवश्यक छ ।”

यी र यस्तै दसैँका प्रसंग उठेका हुन्, जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा । कार्यक्रममा सहभागी भएका व्यक्तिले दसैँ र संस्कृतिसँग उठाएका विषयको संरक्षणको लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता रहेको छ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीको ।

“दसैँको लागि माटो खन्दा, पिङ खेल्दा, चङ्गा उडाउँदा सावधानी अपनाइएन भने अप्रिय घटना भइरहेको हुन्छ । घटनाले गर्दा पनि कतिपय स्थानमा यस्ता संस्कृति लोप हुने अवस्थामा पुगेको छ”, जिसस प्रमुख ठकुरीले भन्नुभयो, “हाम्रो यस्ता चाडपर्व र संस्कृति पर्यटनसँग पनि जोडिएको हुन्छ । त्यस्ता संस्कृतिको जगेर्नाको निमित्त स्थानीय तहलाई कार्ययोजना बनाएर अघि बढाउन समन्वय गर्नेछु ।”

मासुका विभिन्न परिकार बनाएर खाने पर्वको रुपमा दसैँैलाई लिने गरिएको छ । मासु मात्र नभई सन्तुलित भोजनको सेवन गर्नलाई कार्यक्रमका सहभागीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.