राजनीति

यसरी पोखियो पूर्वराजा शाहको व्यवस्थाप्रतिको आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १४ गते २०:५९
यसरी पोखियो पूर्वराजा शाहको व्यवस्थाप्रतिको आक्रोश (भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ काठमाडौं । बेलाबेलामा तत्कालीन परिस्थितिबारे निराशापूर्ण सन्देश प्रवाह गर्ने गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले यतिबेला दशैंको शुभकामना सन्देश दिँदै दलहरुमाथि आक्रोश व्यक्त गर्नुभएको छ ।

देशमा राजसंस्थाको उन्मुलन भइसकेपछि सामान्य नागरिकसरह बसिरहेका ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा सन्देश जारी गर्दै निराशा व्यक्त गर्ने गरेको भए पनि राजनीतिमै आएर आफ्नो ताकत देखाउने हिम्मत भने गर्नु सक्नु भएको छैन ।

दलहरुको सत्ता स्वार्थले मुलुकलाई असफलतातिर धकेलेको पूर्वराजा ज्ञानेन्द्रको आरोप छ । दशैको शुभकामनासहित जारी गरेको भिडियो सन्देशमा ज्ञानेन्द्रले सुरुमै दशैं दानवीय शक्तिविरुद्धको पर्व भएको स्मरण गराउँदै वर्तमान अवस्थाविरुद्ध आक्रोश पोख्नु भएको छ ।
यतिमात्र होइन पूर्व राज्ञा ज्ञानेन्द्रले मुलुकवासीमाथि अत्याचार भइरहेको र देश विदेशीहरुको क्रिाडाभूमी बन्दै गएकोसमेत टिप्पणी गर्नुभएको छ ।

गणतन्त्र स्थापनापछि सामान्य नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले राजाकै रुपमा विभिन्न चाड पर्व र अवसरहरुमा आफ्नो सन्देश जारी गर्ने र तत्कालीन परिवेशमाथि असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ ।

राज संस्थाको बिदाइसँगै मुलुकले व्यवस्था परिवर्तनका विभिन्न आयामहरुमा उपलब्धि पनि हासिल गरेको थियो । तर ती उपलब्धि उधारो दस्तावेज र कोरा अभिव्यक्तिमा सीमित बन्न थालेको भान ठूलै तप्काले गरिरहेको छ । त्यसैले अहिले राप्रपालगायतका कतिपय दल र समूह राजसंस्था पुनर्स्थापनाको अभियानमा छन् । तर राजनीतिक दलमा आफ्नो कुनै संलग्नता नरहेको बताउने राजा बेलाबेला तत्कालीन व्यवस्थाप्रति निराशापूर्ण अभिव्यक्ति लिएर किन झुल्किनुहुन्छ त ?

खोपीको देउताका रुपमा राखिएका राजाले कुनै दिन शिव स्वरुप धारण गरेर मुलुकभर फैलिएको अव्यवस्था र अस्तव्यस्तताको कालकुट विष पिउँछन् भन्ने कतिपयलाई लागिरहेको छ । यही बल र भरोसाका कारण बेलाबेलामा पूर्वराजा ज्ञानेन्द्र उही पूरानो श्री ५ को धङधङीसहित प्रस्तुत हुने गर्नुभएको छ ।

यसपटक त ज्ञानेन्द्रले पृष्ठभूमिमा राजा वीरेन्द्र र रानी ऐश्वर्यको तस्बिरसहित भिडियो सन्देश जारी गर्दै आफूलाई प्रजातन्त्रप्रेमी राजा वीरेन्द्रकै प्रतिनिधिका रुपमा प्रस्तुत गर्ने प्रयास गर्नु भएको छ । अनि अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यक्ता रहेको भन्दै राजतन्त्र पुनस्थापनाको चाहना मुखरित गर्नुभएको छ ।

त्यसो त बेलाबेला राजनीतिक दलका नेता नै पूर्वराजाको सक्रियताप्रति सशंकित हुने गरेका छन् । त्यसैले निर्मल निवासको एउटा सानो सन्देशले सिंहदरबार थर्कमान हुने गर्छ । अहिलेका शीर्षस्थ नेताहरु पूर्वराजाको सन्देश आउनासाथ रक्षात्मक भइहाल्नुले पनि कतै न कतै आशंका र भयले काम गरेको छ कि भन्ने देखिन्छ ।

ज्ञानेन्द्र शाह नेपाली राजनीतिमा असफल नाम हो । नागरिकका मौलिक अधिकार कटौति गरेर प्रणालीमाथि कु गरेको बैगुन पनि बिर्सिहाल्ने बेला भएको छैन । यद्यपि आफ्ना पछाडि ठूलै संख्या लागिरहेको छ र निकास दिने सुत्र आफूसँगै छ भन्ने ठानिरहेका ज्ञानेन्द्रलाई राजनीतिक बाटो खुलै पनि छ । यद्यपि बन्द कोठाभित्र बसेर दल र व्यवस्थाप्रति वितृष्णा सुनाइरहेका पूर्वराजाले त्यो हिम्मत गरेको र गर्नसक्ने छाँटकाँट चाँहि देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्