राजनीति

इतर समूहप्रति कांग्रेस संस्थापन थप कठोर, दायरा उल्लंघन नगर्न चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १२ गते ८:११
इतर समूहप्रति कांग्रेस संस्थापन थप कठोर, दायरा उल्लंघन नगर्न चेतावनी (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनमा सीट भागबण्डाको रस्साकस्सी जारी नै छ । कांग्रेसले पाउने सीट निश्चित नहुँदै संस्थापन इतर समूह चालीस प्रतिशतको अडानमा छ ।

उम्मेदवार छनोट न्यायोचित र सम्मानजनक नभए आफ्नै नेताले विद्रोहको चेतावनी दिँदा कांग्रेस संस्थापन पक्ष पनि चानचुने दबाबमा भने छैन ।

पटक–पटकको गुटगत भेलाले संवादका लागि संस्थापन पक्षलाई दबाब दिने शेखर पक्षको ठम्याइ थियो । तर, संस्थापन पक्ष एकलौटी अगाडि बढिरह्यो । चालीस प्रतिशत उम्मेदवारी दाबी गर्दै आएको यो समूहलाई संस्थापनले प्रतिनिधिसभाको समानुपातिकतर्फ पन्ध्र प्रतिशत हाराहारीमै खुम्च्याइदियो ।

सम्मानजनक र न्यायोचित उम्मेदवारी नभए विद्रोहको चेतावनी दिँदासम्म मौन रहेको संस्थापन पक्षले मंगलबार पार्टी प्रवक्तामार्फत् आन्तरिक किचलोको सार्वजनिक जवाफ दिएको छ । शेखर पक्षको नाममा भइरहेका गतिविधिको सुक्ष्म निगरानी गरिएको भन्दै संस्थापनले तिनलाई अनुशासनको दायरमा ल्याउने चेतावनीसमेत दिएको हो ।

नियमित भनिए पनि विद्रोहको चेतावनी दिइरहेको समूहलाई थर्काउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले समानुपातिकको सूची सबै पक्ष र नेताको सहमतिमै बनाइएको दाबी पनि गर्नुभयो । सूचीमा रहेका १०९ मध्ये संस्थापन इतरका १३ जना मात्रै हुनुले महतको दाबी चाहिँ खण्डन गर्छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि यो समूहबाट बीसभन्दा बढि उम्मेदवार नहुने चर्चा चलाइएको छ । र, यही चर्चाले संस्थापनतर्फ दबाब बढाउनकै लागि भएपनि इतर समूह धर्ना, घेराउ र अनसनजस्ता प्रचारात्मक अभियानका लागि बाध्य हुँदैछ ।

समानुपातिकको सूची सहमतिमै बनाइएको भन्दै संस्थापनले इतर पक्षलाई कमजोर बनाउन हरसंभव प्रयास गरिने जनाउ दिइसकेको छ । सीट भागवण्डा कार्यदलमा इतर पक्षका गगन थापा हुनु र समानुपाति उम्मेदवार चयनमा पनि सो समूहका अगुवा नेता सहमत रहेको बताएर संस्थापनले इतरका दोस्रो वा तेस्रो तहका नेतामाथि मनोबैज्ञानिक दबाब बढाएको छ ।

संस्थापनसँग ४० प्रतिशत आसपासबाहेक सम्झौता नगर्ने अडानमा छ इतर समूह । तर, संस्थापन प्रत्यक्षमा पनि २० प्रतिशत हाराहारीमै खुम्च्याउने नीतिमा छ ।

साँच्चै दबाब दिनसक्ने इतरका नेता अबसर फुत्किन्छ कि भन्ने चिन्ताले मौन छन् । जसको आवाज संस्थापनले निरन्तर वेवास्ता गरिरहेको छ ति चाहिँ उफ्रिरहेका छन् । जसलाई संस्थापनले पार्टी ओरालो लगाएर व्यक्तिगत चर्चा बटुल्ने प्रयास ठानिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्