सन्दीपविरुद्ध डिफ्युजन नोटिस, स्टाटसले थप आशंका (भिडियो रिपोर्टसहित)
१० असोज २०७९ काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । तर बलात्कारको आरोप लागेकपछि सम्पर्कविहीन भएका सन्दीप भने फेसबुकमा स्टाटस लेख्ने र सम्पर्कविहीन हुने गरेका छन् । उनको यो व्यवहारले थप आशंका उब्जाएको छ ।
बलात्कारको आरोप लागेका क्रिकेटर खेलाडी सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत् फेरि आफ्नो बचाउ गरेका छन् । दुई हप्ताअघि क्यारेबियन प्रिमियर लिग सिपिएल छोडेर नेपाल फर्किने जानकारी सामाजिक सञ्जालमा गराएर सम्पर्क विहिन भएका उनी कहाँ छन् भन्नेबारे प्रहरी र स्वयम् उनकै परिवारलाई पनि थाहा नभएको बताइन्छ ।
यसबीचमा उनी विदेशमै कानुनी परामर्शमा रहेको आशंका समेत गरियो । तर दुई हप्ता पछि एकाएक आइतबार राति सामाजिक सञ्जाल मार्फत् उनले आफूमाथि लागेको आरोपको खण्डन गरे । आफूविरुद्ध परेको जाहेरी र सो सम्बन्धमा आएका समाचारले मानसिक रुपमा विछिप्त भएको र उपचारमा रहेको उनको दाबी छ ।
सन्दीपले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशन प्रसारण भएको भन्दै गुनासो गरेका छन् । छिट्टै नेपाल फर्केर कानुनी लडाई लड्ने दोहोर्याएपनि अहिले कहाँ छन् भन्ने विषयमा भने केहि खुलाईएका छैनन् ।
बलात्कारको आरोपपछि फेसबुकमा स्टाटस लेख्ने र हराउने उनको व्यवहारले उनीमाथिको आरोप पुष्टि भइरहेको टिप्पणी आम रुपमा हुन थालेको छ ।
बलात्कारको आरोप लागेपछि तत्काल आएर आफै प्रहरीकोमा पुग्नुपर्ने व्यक्तित्व भएका सन्दीप यो बीचमा लामै समय हराए । अनि सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूप्रति सहानुभूति खोजेका छन् ।
उनी आरोपपछि विक्षित बनेका हुन् वा सहानुभूतिका लागि सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका होलान् ?
जस्तो सुकै अपराधका आरोपितलाई कानुनी परामर्श र आफ्नो बचाउ गर्ने अधिकार छ । तर लामो समय सम्पर्क बाहिर रहँदा यसले कानुनी व्यवस्थाकै उपहास भएको छ ।
त्यसैले सन्दीप यो घटनाबाट भागेर हिँड्नु भन्दा कानुनी उपचारका लागि नेपाल फर्किनु आवश्यक छ । सामाजिक सञ्जालमा जसरी उनलाई पिडकको रुपमा चित्रित गरिएको छ यसले पनि उनी नेपाल फर्कन हच्किएको हुन सक्ने कतिपयको बुझाइ छ ।
प्रतिक्रिया