Main News

महानगरको आग्रह लत्याउँदै नागरिक (भिडियो रिपोर्टसहित)

२०७९ असोज १० गते २१:११
महानगरको आग्रह लत्याउँदै नागरिक (भिडियो रिपोर्टसहित)

१० असोज २०७९ काठमाडौं । सरकारले बेलाबखतमा सामाजिक सुधारका कामहरुका लागि जनताको सहयोग माग्छ, अर्थात् आग्रह गर्छ । तर नागरिकस्तरबाट असहयोग हुँदा त्यसको प्रत्यक्ष असरको मारमा नागरिक आफैँ पर्छन् ।

यसैको उदाहरण हो काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुमपान निषेध र भिडभाड हुने क्षेत्रको सवारी चाप घटाउने अभियानका लागि निकालेको सूचनाको बेवास्ता ।

काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि लागू हुने गरी सर्वजानिक स्थलमा धुमपान नगर्न निर्देशन जारी गरेको थियो । भदौ ३० गते सूचना निकालेर सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खालगायत सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको थियो । सूचना जारी गर्दै महानगरले यसो गरेको पाइएमा जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो । तर महानगरले गोरखापत्रमा छापेको सूचनाको बेवास्ता भएको छ ।

त्यसो त सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन र नियमावली ल्याइसकेको छ । पटकपटक सरकारका विभिन्न निकायहरुले यो ऐन कार्यान्वयनमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी वरपर चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ ।

सार्वजनिक स्थलमा रोक लगाइएका वस्तुको प्रयोग मानिसको आचरण सुधारको कुरा पनि हो । तर औपचारिकताका लागि जारी हुने सूचना र अटेरी प्रयोगकर्ताका कारण यस्ता नियमहरु कार्यान्वयन हुन सकेको देखिँदैन ।

यस्तै केही दिनअघि काठमाडौं महानगरले बढी भिडभाड हुने न्यूरोड, असन लगायतका क्षेत्रमा दशैं अवधिमा चार पांग्रे सवारी साधन प्रवेश नगराउन अनुरोध गर्यो । किनमेलका लागि त्यस क्षेत्रमा जानेहरुका लागि खुलामञ्चमा पार्किङको व्यवस्था गरिदिने पनि बतायो । तर महानगरको यो आग्रह पनि आम नागरिकले बेवास्ता गरिदिए ।

काठमाडौं महानगरपालिकाले बेलाबखतमा गर्ने यस्ता अनुरोधहरु आम रुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । नागरिकले प्रत्यक्ष सहयोग गर्नुपर्ने कुरामा सहयोग नभएपछि कतिपय सामाजिक सुधारका काम हुन सकेको देखिँदैन । सरकारलाई गाली गरिरहने नागरिकले आफ्नो व्यवहार पनि सुधार्ने कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *