Main News

लाखौँ खर्चेर एमबीबीएस पढ्नेहरु लाइसेन्स परीक्षामा अनुत्तीर्ण (भिडियो रिपोर्टसहित)

२०७९ असोज ९ गते २१:२५
लाखौँ खर्चेर एमबीबीएस पढ्नेहरु लाइसेन्स परीक्षामा अनुत्तीर्ण (भिडियो रिपोर्टसहित)

९ असोज २०७९ काठमाडौं । नेपालमा मेडिकल शिक्षाका लागि वर्षेनी अर्बौँ रकम खर्च हुने गरेको छ । भारत, बंगलादेश, चीन, रसियालगायतका देशमा गएर आफ्नै खर्चमा पढ्नेहरुको संख्या पनि ठूलो छ । तर यसरी पढेर एमबीबीएस गरेकाहरु चिकित्सा क्षेत्र प्रवेशका लागि नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा भने सन्तोषजनक रुपमा उत्तीर्ण हुन सक्दैनन् ।

चिकित्सा शिक्षाको औपचारिक पढाइ पूरा गरेपछि अस्पतालमा काम गर्न वा बिरामी जाँच्न नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्छ । अर्थात् लाइसेन्स परीक्षामा उत्तीर्ण हुनुपर्छ । लाइसेन्सका लागि काउन्सिलले वर्षको तीन पटक परीक्षाा लिने गर्छ र लाइसेन्स दिन्छ ।

गत २०७९ असोज ६,७, ८ गते सञ्चालन भएको लाइसेन्स परीक्षामा मेडिकल र डेण्टल गरी २ हजार ६० विद्यार्थी सहभागी भए । जसमा मेडिकलतर्फ ७ सय ४० र डेन्टलतर्फ १ सय २३ जना अर्थात् मेडिकलमा ४३ दशमलब ८९ र डेण्टलमा ३४ दशमलव ८४ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भए । प्रश्नपत्र गाह्रो हुँदा उत्तीर्ण हुनेको संख्या थोरै भएको विद्यार्थीको तर्क छ ।

कतिपय भने विद्यार्थीकै कमजोरीका कारण उत्तीर्ण हुनेको संख्यामा कमी आएको बताउँछन् ।नेपाल मेडिकल काउन्सिलले लाइसेन्सका लागि लिएको परीक्षाको विगत ५ वर्षको उत्तीर्ण प्रतिशत हेर्ने हो भने पनि सन्तोषजनक देखिँदैन ।

यो तथ्यांकले मेडिकल शिक्षाको गुणस्तर र विद्यार्थीको लगनशिलतामाथि प्रश्न उठाएको छ ।मेडिकल काउन्सिलले भने लाइसेन्स परीक्षामा आएको नतिजालाई सामान्य रुपमा लिएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढ्न उपत्यकाभित्र ४२ लाख र उपत्यका बाहिर ४६ लाख तोकेको छ । डाक्टर बन्न लाखौं खर्च गरेकाहरुले समयमै लाइसेन्स नपाउँदा, विद्यार्थीलाई आर्थिक भार हुने र सरकारले समेत दक्ष जनशक्ति गुमाउने तर्क कतिपय चिकित्सकको छ ।

पढाइका लागि लाखौँ खर्च गरे पनि लाइसेन्स परीक्षामा उत्तीर्ण नहुँदा कयौँ व्यक्ति बेरोजगार बनेका छन् भने कतिपयले पढाइका लागि निकालेको ऋण तिर्न नसेको अवस्था छ । शिक्षण संस्थाहरुमा हुने राजनीति, पढाइमा एकरुपताको अभाव, पाठ्यपुस्तकको अन्योलता जस्ता कारणले विद्यार्थीहरु औपचारिक अध्ययनमा उत्तीर्ण भए पनि लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *