नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ हुने
९ असोज २०७९ काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धमा परेको रिटको सुनुवाइ आज हुने भएको छ ।
आजका लागि पेशी तोकिएको भए पनि समय भने निर्धारण भइसकेको छैन । यसअघि शुक्रबारका लागि पेशी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको १५ दिनको समयावधिमा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका छन् ।
अधिवक्ताहरू सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए ।
बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया