सिट बाँडफाँटका लागि गठित समितिको बैठक बस्दै
८ असोज २०७९ काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट समितिको बैठक आज पनि बस्दैछ ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
यसअघि हिजो दिनभर भएको छलफलमा भने सहमति हुन सकेको थिएन । दलहरूको आआफ्नै अडानका कारण गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमति जुट्न समस्या भइरहेको छ । सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरूले आज फेरि बैठक बोलाएका हुन् ।
गठबन्धनका नेताहरूले प्रतिनिधि सभाअन्तर्गत देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन् ।
प्रदेश सभाका ३ सय ३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी पनि गरिएको छ । तर, मधेसका केही प्रमुख निर्वाचन क्षेत्र र पहाडी क्षेत्रका पनि केही जिल्लामा कुरा मिल्न सकेको छैन । यस्तै, पहाडी क्षेत्रका केही सिटमा पनि दलहरूबीच सहमति हुन सकेको छैन ।
प्रतिक्रिया