Main News

देशभर विद्युतिकरणमाभन्दा प्राधिकरणको ध्यान निर्यातमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ५ गते २०:४९
देशभर विद्युतिकरणमाभन्दा प्राधिकरणको ध्यान निर्यातमा (भिडियो रिपोर्टसहित)

५ असोज २०७९ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत निर्यात गरेर १६ अर्ब आम्दानी गर्ने लक्ष्य रोखेको छ। मुलुक विद्युत निर्यात गर्ने अवस्थामा पुगिसके पनि अझै कुल जनसंख्याको ८ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत उपभोग गर्न पाएका छैनन्।

यो सुविधा पाउन उनीहरुले अझै २ वर्ष कुर्नुपर्ने छ । यो अवस्थामा निर्यातमा जोड भन्दा पनि मुलुकभर विद्युतीकरण र गुणस्तरीय विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

नेपाल विद्युत प्राधिकरणले गत भदौ महिनामा भारततर्फ २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत अर्थात् २ अर्ब ४२ करोड रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा १६ अर्ब रुपैयाँको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ। दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेप्नु पर्ने अवस्थाबाट निर्यातको अवस्थामा पुग्नुलाई प्राधिकरणले निकै ठूलो उपलब्धि ठानेको छ । मुलुकमा अहिले कुल विद्युतको जडित क्षमता दुई हजार २ सय मेगावाट पुगेको छ । थप तीन हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण भइरहेका छन् ।

विद्युत निर्यात गर्ने अवस्थामा पुगिसके पनि मुलुकमा अझै पूर्ण विद्युतीकरण भइसकेको छैन । देशभरका ६५ लाखभन्दा बढी परिवारमध्ये तीन लाख परिवारमा विजुली पुगेको छैन् । कर्णाली प्रदेशमा सबैभन्दा कम विद्युतीकरण छ । मुलुककै सबैभन्दा विपन्न र पछि परेका समुदायमा विद्युत पुगेको छैन । प्राधिकरणले अब निर्यात मात्र गर्ने भन्दा पनि सबै स्थानमा विद्युतीकरण गर्ने र विद्युतीकरण भएका स्थानमा गुणस्तरीय बनाउने तर्फ ध्यान दिनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

विद्युतमा आत्मनिर्भर बन्दै गएपछि सरकारले नागरिकलाई घरासयी प्रयोजनामा विद्युतीय उपकरणको प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। सोही अनुरुप सरकारले केही समयअघि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापित गर्ने नीति लियो । तर गुणस्तरीय विद्युत प्रवाह नहुँदा सिंहदरबारकै उपभोक्ताले हैरानी ब्यर्होनु परेको छ।

जानकारहरुका अनुसार विदेश निर्यात गरेर प्रतियुनिट ८ रुपैयाँ आम्दानी भए पनि त्यही विद्युत स्वदेशमा खपत गर्न सके एक सय रुपैयाँ बरबारको प्रतिफल प्राप्त हुन्छ। त्यसकारण अहिलेको अवस्थामा सरकारले निर्यातभन्दा पनि मुलुकभर विद्युतीणरलाई तीब्र बनाउनुका साथै गुणस्तरीय विद्युतीकरणका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *