Main News

साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर

२०७९ असोज ५ गते १४:४८
साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर

५ असोज २०७९ काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ ।

सम्पन्न जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिरको गारो जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो, पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज भएको हो” ।

भूकम्पले पूर्ण क्षति भएको मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीनवटा गजुर भेटिएको थियो । पुनःनिर्माणका क्रममा तीनवटै गजुरलाई एक तह छोपिएको छ । त्यसमाथि अर्को तहले छोपेर बाहिर देखिने गजुर राखिएको कोषका निर्देशक मरासिनीले बताउनुभयो ।

जयवागेश्वरीको उदाहरणपछि एक तले मन्दिर माटोको जोडाइबाट बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ । मन्दिर ठडिए पनि तान्त्रिकविधिले कोरिएको भित्तेचित्रको काम भने बाँकी छ । कोषका इञ्जिनीयर पशुपति ठाकुर तान्त्रिक विधिले भित्तेचित्र निर्माण गर्न तीन महिना लाग्ने बताउनुहुन्छ । मन्दिर पुनःनिर्माणका लागि पटक–पटक थपिएको म्याद भने आगामी कात्तिक २ गते सकिँदैछ ।

मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएको थियो । यसको अध्ययनका लागि पुरातत्व, संस्कृतिविद्लगायत विज्ञको समिति गठन गरी थप अनुसन्धान गरिएकाले पुनःनिर्माणमा ढिलाइ भएको हो । समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन दिएको थियो ।

सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको अनुमानित खर्चसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको थियो ।

सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएको थियो । जसका कारण निर्माण अवधि बढेर दोब्बर समय लागेको हो । पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानुनी व्यवस्था अनुसार कोषलाई सुझाव दिएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएका छौँ, माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न भनेका थियौँ” । विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेको थियो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताउनुभयो ।

रु तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर समग्र पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माणको काम गरिएको छ । कोषका निर्देशक मरासिनी जयवागेश्वरीको पुरानो संरचना अनुसार पुनःनिर्माणको काम भएको बताउनुहुन्छ ।

कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलसका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम सुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो । जिम्मा लिएका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि कोषले सम्झौता रद्द गरेको थियो ।

दाता शर्मा सुरुमा पुरातत्वले नक्शा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य हुनुपरेको बताउनुहुुन्छ । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ ।

चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउनुहुन्छ । पशुपति क्षेत्रमा रहेका पाँच सय १८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए । पशुपति क्षेत्रका ८० वटा सम्पदामा आंशिक क्षति भएको थियो ।

भूकम्पले प्रभावित ३२ जिल्लामध्ये २९ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म छ सय ७० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले अन्य संरचनामा क्षति पुगेका नवलपरासीका दुई जिल्ला र मुस्ताङका सम्पदामा भने क्षति गरेन” ।

जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि
जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।

मन्दिरको कलेबर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकारले बताउनुभयो ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।

गोपाल र किरात शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरुको भनाइ छ । ऐतिहासिक एवं सांस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकोको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *