Main News

अनसनरत डा.केसी र सरकारबीच आज पनि वार्ता हुने

हिमालय टिभी
२०७९ असोज ४ गते ९:२०
अनसनरत डा.केसी र सरकारबीच आज पनि वार्ता हुने

४ असोज २०७९ काठमाडौं । विगत ९ दिनदेखि अनसनरत प्रा.डा.गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुँदैछ ।

आइतबारदेखि शुरु भएको वार्तामा हालसम्म कुनै पनि सहमति हुन नसकेपछि आज पनि दुबै पक्षबीच वार्ता हुन लागेको हो । डा.केसी पक्षबाट वार्तामा सहभागी प्रितम सुवेदीका अनुसार वार्ता बिहान १० बजे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हुनेछ ।

गत सोमबार कैलालीमा अनसन शुरु गर्नुभएका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले काठमाडौं लैजान आग्रह गरेका छन् । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वार्ता निष्कर्षमा पुराएर उहाँको जीवनरक्षा गरिदिन नेपाल चिकित्सक सङ्घले सरकारसँग माग गरेको छ ।

सेती प्रादेशिक अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएसँगै चिकित्सक सङ्घले अविलम्ब वार्ता निष्कर्षमा पुराउन आग्रह गरेको हो ।

डा. केसीको उपचारमा संलग्न चिकित्सकले हिजो केसीको पेटमा अल्सर भई आन्तरिक रक्तस्राव भएको आशङ्का गर्दै विशिष्टिकृत अस्पतालमा लैजान सुझाव दिएका थिए । विभिन्न ८ बुँदे मागसहित डा.केसीले २० औँ पटक अनसन बस्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *