Main News

अदालतको आदेशपछि पनि रोकिएन महानगरको टुकुचा उत्खनन अभियान

हिमालय टिभी
२०७९ असोज ३ गते १६:२७
अदालतको आदेशपछि पनि रोकिएन महानगरको टुकुचा उत्खनन अभियान

३ असोज २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ ।

आज पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरी क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमण गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ ।

केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमै टुकुचा उत्खनन गरेको बताउनुभयो ।

उहाँले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताउनुभयो । उहाँले कामनपा चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताउनभयो ।

आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खनन प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *