समानुपातिकको बन्दसूची बुझाउने दिनसम्म पनि दलले लगाएनन् उम्मेदवारको टुंगो (भिडियो रिपोर्टसहित)
२ असोज २०७९ काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि बुझाउने दुईमध्ये आज पहिलो दिन थियो । निकै अगाडिबाट छलफल थालेपनि नाम टुंग्याउन नसक्दा मुख्य दलले आज सूचि बुझाउन सकेनन् । छलफल भइरहेको भन्दै प्रमुख दलले भोलि बुझाउने जानकारी दिएका छन् ।
प्रमुख दल बेलैमा काम गर्दैनन् र अन्तिम घडीमा मात्रै तातिन्छन भन्ने अर्को उदाहरण हो, पहिलो दिन समानुपातिक उम्मेदवारको सूचि बुझाउन नसक्नु । सूचि बुझाउनु पर्ने पहिलो दिन मुख्य दलमा बल्ल छलफलको तातो लाग्यो ।
सहमहामन्त्रीले जिम्मेवारी पूरा गर्न नसकेपछि नेपाली कांग्रेसले आएका नाम सर्टलिस्ट गरेर पठाउन प्रदेश समितिमै फर्काइदिएको छ । केही घण्टामा सर्टलिस्ट गर्ने दबाब प्रदेश समितिमा थोपरिदिएको छ कांग्रेसले ।
केही दिनअघि नै यो काम दिएको भए प्रदेश समितिले पर्याप्त छलफलसहित उम्मेदवार सिफारिस गर्न सक्थ्यो । बेलैमा काम नगर्ने र हतारको फाइदा उठाउने नेताहरुको प्रबृत्तिले इमान्दार र योग्य कार्यकर्तामाथि अन्याय हुने संभावना ज्यादा हुन्छ । कांग्रेस सोमबार पनि अन्तिम समयमा आयोग जाने तयारीमा छ ।
सिफारिसको अधिक चापमा परेको एमालेले पनि बेलैमा उम्मेवार छान्न सकेन । एमाले पनि आइतबार मात्रै सचिवालयको बैठकमा जुट्यो । नेताहरुले तयार पारेको सूचि अनुमोदन गर्न भन्दै बसेको बैठकले उम्मेद्वार टुंग्याउन भने सकेन । यद्यपी, एमालेका पदाधिकारीले टुंगिएको नामलाई अध्यक्ष केपीले अन्तिम रुप दिएर सोमबार आयोगमा बुझाइने जनाएका छन् ।
नेकपा माओवादी केन्द्र पनि बेलैमा उम्मेदवार टुंग्याउन सकेन । उसले बन्दसूची बुझाउने पहिलो दिन सिफारिस कार्यदल पो बनायो । कार्यदलमा महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल सदस्य छन् । तल्ला कमिटीबाट आएका सिफारिसबाट कार्यदलले सूचि तयार पार्ने र पदाधिकारी बैठकले अन्तिम रुप दिने माओवादीको तयारी छ ।
नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीलगायतका दलले पनि आइतबार सूचि बुझाएनन् । बन्दसूची बुझाउने पहिलो दिन साँझ ५ बजेसम्म प्रतिनिधिसभाका लागि नेपाल समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी मात्र बन्द सूचि बुझाएका छन् । सोमबारसम्म बुझाउनै पनि उम्मेदवारको बन्द सूचि असोज दोस्रो सातासम्म फेरबदल गर्न दिने आयोगको तयारी छ ।
मंसिर ४ गते हुने निर्वाचनले समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र सात वटै प्रदेशसभामा २२० उम्मेदवार निर्वाचित गर्छ । निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७६ मध्ये ६८ दलले समानुपातिकतर्फ भाग लिने गरी दल दर्ता गरेका छन् ।
प्रतिक्रिया