Main News

मोबाइल सन्देशले यसरी जोगायो ज्यान

२०७९ असोज २ गते १४:१७
मोबाइल सन्देशले यसरी जोगायो ज्यान

२ असोज २०७९ कञ्चनपुर । भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो ।

रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो । त्यसमा लेखिएको थियो, “पछिल्लो तीन घण्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आई खतरा आसपास पुगिसकेकाले सतर्कता अपनाऔँ”, रावतले मोबाइलमा आएको सन्देश पढ्नुभयो ।

सन्देश पढ्नासाथसँगै सुत्नेकी श्रीमतीलाई उठाएर सन्देशका बारेमा सुनाउनुभयो । “सन्देशमा भने झैँ ठूलो वर्षा भइरहेको थियो”, रावतले भन्नुभयो, “बाहिर हेरे वनहरा नदीको पानी झोपडी भित्रै आइपुगेको थियो, हतारमा श्रीमतीलाईसँगै आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारे, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाए सबैजना वन क्षेत्रमा भाग्यौँ, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो ।”

नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एक सरो लुगामा सबै भागेर ज्यान जोगाएको उहाँ बताउनुहुन्छ । “शिविरमा बाढीको पानी पसिसकेकाले भाग्नका लागि आवाज आयो”, गौरे दमाईंले भन्नुभयो, “सुतेका मात्रै थियौ, लत्ताकपडा केही बोक्नै पाएनौँ ।”

उहाँले रातिका समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाउनुभयो । “पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो”, उहाँले भन्नुभयो, “वनको माथितर्फ लाग्यौँ, त्यतिबेला शिविरका अरु पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौँ ।”

उहाँ अहिले पनि शिविरमा फर्केर जान डराउने हुन्छ । वर्षा भएपछि अझै पहिला जस्तै बाढी आउने डर उहाँको मनमा खेल्ने गरेको छ । शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखिमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताउनुहुन्छ ।

“डोरीको खटियामा सुतेका थियौँ”, उहाँले भन्नुभयो, “झोपडीभित्रै पानी आइपुगेकाले ज्यान जोगाउनकै हतार भयो, केही बोक्नै पाएनौँ, सबै बगाएर लग्यो, शरीरमा लगाएको एकसरो लुगामात्रै छ, त्यसबाहेक केही छैन ।”

रातको समयमा मुसलधारे पानीमै बालबालिकासहित अनिदोमै रात काट्नु परेको दुखेसो उहाँले पोख्नुभयो । शिविरकी कलावती दमाईंको झोपडी बाढीले बगाउँदा एकसरो लुगामै हुनुहुन्छ । रातिमा बालबालिका पानीमा भिजेपछि बिरामी पर्न थालेको उहाँले बताउनुभयो ।

“शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईबस्तुलाई फुकाएर जङ्गलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो”, स्थानीय दलबहादुर बोहराले भन्नुभयो, “झोपडीमा सुतेकालाई उठायौँ भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जङ्गलै जङ्गल पानीमै भागेर ज्यान जोगायौँ ।”

शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ । बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उहाँ बताउनुहुन्छ । सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उहाँले बताउनुभयो ।

विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ । बस्नसक्ने अवस्था छैन । विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका–११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाएको छ ।

शिविरमा २८ परिवारको बसोबास रहेको छ । शिविरका बस्दै आएका बासिन्दालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले राहत सामग्री वितरण गरेको छ । शिविरमा बसोबास गर्दै आएका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् ।

“नदी छेउको शिविरमा जुनसुकैबेला अझै पनि विपद् आउनसक्ने भएकाले सुरक्षित स्थानमा बसोबासका लागि धेरै पहिलेदेखि माग गर्दै आएका हौँ”, मानध्वज लुहारले भन्नुभयो, “कसैले सुनेनन् अव त्यो शिविरमा फर्केर जाने मन छैन, निकै डर लाग्न थालेको छ, यस पटकको विपद्बाट मोबाइलमा आएको सन्देशले बचायो । अर्कै पटक विपद् आए के हुने हो थाहा छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *