Main News

अनसनरत प्रा.डा.केसी र सरकारबीच आज वार्ता हुँदै

हिमालय टिभी
२०७९ असोज २ गते ९:१८
अनसनरत प्रा.डा.केसी र सरकारबीच आज वार्ता हुँदै

२ असोज २०७९ कैलाली । अनसनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच आज वार्ता हुँदैछ ।

कैलालीको धनगढीमा प्रा.डा.केसीले २० औं पटक सत्याग्रह शुरु गर्नुभएको । सत्याग्रह शुरु गर्नुभएका डा.केसीसँग वार्ताका लागि सरकारले शुक्रबार वार्ता टोली गठन गरेको थियो । हिजो वार्ताका लागि समय तोकिए पनि शिक्षा सचिव सहभागी नहुने भएपछि आजका लागि वार्ताको समय तोकिएको डा.केसीका सहयोगी डा.अमृत जैसीले बताउनुभयो ।

डा.जैसीले सरकार र अनसनरत डा.केसी पक्षबीच बिहान १० बजे वार्ताका लागि समय तोकिएको पनि बताउनुभयो । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारमा बस्नेछ । सातौं दिनसम्मको अनसनका कारण डा.केसीको स्वास्थ्य अवस्था भने बिग्रिन थालेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि डा.केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले डा.केसीलाई औषधि प्रयोग गर्न सुझाव दिएपनि उहाँले खान नमानेको सहयोगी डा. जैसीले बताउनुभयो ।

यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर डा.केसीले गत सोमवारदेखि अनसन सुरु गर्नुभएको हो । यसैबीच अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै आजपनि धनगढीमा उहाँका समर्थकहरूले प्रर्दशन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *