राजनीति

निर्वाचनकाे मुखैमा नेताले दल बदल्दा प्रचण्डलाई तनाव (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ३१ गते २१:०५
निर्वाचनकाे मुखैमा नेताले दल बदल्दा प्रचण्डलाई तनाव (भिडियो रिपोर्टसहित)

३१ भदौ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । तर निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचण्डकै क्षेत्रमा प्रभावशाली नेताले पार्टी छाडेर एमालेमा प्रवेश गरेपछि उहाँलाई धक्का लागेको विश्लेषण भैरहेको छ ।

निर्वाचन क्षेत्रमा अस्थिर रहेको भन्दै आलोचना हुने पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार हुने प्रष्ट्याउँदै आउनुभएको छ । केही दिनअघि मात्र पनि प्रचण्डले गरेको घोषणा हो, यो । तर, चितवन माओवादी अध्यक्ष प्रचण्डका लागि असहज बन्दै गएको छ । प्रचण्डका मुख्य सहयोगीले नै माओवादी केन्द्र त्यागेका छन् ।

चितवन सहइञ्चार्ज यमबहादुर परियार इन्द्रजीत, तत्कालीन माओवादी जनमुक्ति सेनाका विग्रेडियर कमाण्डर अञ्जन तिमल्सिनाले चुनावकै मुखमा माओवादी छाड्नुभयो । उहाँहरु अहिले एमालेमा प्रवेश गर्नुभएको छ । त्यसको एकदिनपछि नै पार्टीका भरतपुर महानगर सचिवालय सदस्य खगराज पाठकले पनि पार्टी परित्याग गरेको घोषणा गर्नुभयो ।

पार्टीका प्रभावशाली नेतासहितका जिल्ला स्तरीय नेताहरुले पार्टी एक पछि अर्को पार्टी छाडेर एमालेमा प्रवेश गरेपछि मंसिर ४ को निर्वाचनमा चितवनको क्षेत्र नम्बर तीनबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेका पार्टीका अध्यक्ष प्रचण्डलाई धक्का लागेको रुपमा अर्थ लगाइएको छ । माओवादी केन्द्रसँग विचार नै भएको परियारको आरोप छ ।

चितवन माओवादी केन्द्रको पछिल्लो घटनाले प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन गर्ने सम्भावनालाई बल पुर्याएको कतिपयको विश्लेषण पनि भैरहेको छ । चिवतन ३ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका प्रचण्डले अब क्षेत्र छाड्नुहोला त ? चितवनका माओवादीहरुले प्रचण्डका लागि त्यति सहज नरहेको बताउँन थालेका छन् । चितवन छाडेर गोरखा र सिन्धुलीबाट पनि निर्वाचनमा प्रतिष्पर्धा गर्न सक्ने माओवादी कार्यकर्ताको अनुमान छ । तर, प्रचण्ड र उहाँ निकट नेताहरुल चितवन क्षेत्र नम्बर ३ नै निर्वाचन क्षेत्र हुने प्रष्ट्याएका छन् ।

माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुले केही नेताले पार्टी छाड्दैमा असर नपर्ने दाबी गरेका छन् । उनीहरु प्रचण्ड बलियो रहेको बताउँछन् ।

छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनु र चितवनमा पछिल्लो समय माओवादी केन्द्रको जनमत बढेको र सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेसको पकड रहेको लगायतका कारण चितवनको क्षेत्र नम्बर ३ प्रचण्डको पहिलो रोजाइ हो । प्रचण्डका लागि चितवन बाहेक बर्दिया, सिन्धुली, गोरखा, बाग्लुङ, गुल्मी लगायतका जिल्लाबाट पनि प्रतिनिधिसभा निर्वाचनमा लागि उम्मेवार सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्