Main News

तापक्रम वृद्धिले अनपेक्षित प्राकृतिक विपदको जोखिम बढ्दो (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ३१ गते १७:०५
तापक्रम वृद्धिले अनपेक्षित प्राकृतिक विपदको जोखिम बढ्दो (भिडियो रिपोर्टसहित)

३१ भदौ २०७९ काठमाडौं । हाल नेपालको औसत वार्षिक तापमान वृद्धिदर ० दशमलव ०५६ डिग्री सेल्सियस छ । सन् १९५० यता नेपालको औसत तापमान वृद्धि १ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।

सन् १९५० सम्म नेपालको औसत तापमान १४ डिग्रि सेल्सियस रहेकोमा अहिले वृद्धि भएर १५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । यो निकट भविष्यका लागि निकै खतरापूर्ण अवस्था हो । सन् २०१६ देखि सन् २०४५ सम्म औसत तापक्रम वृद्धि ० दशमलव ९ डिग्रीदेखि १ दशमलव १ डिग्री र त्यसपछि सन् २०६५ सम्म १ दशमलव ८ डिग्रीदेखि २ दशमलव ८ डिग्री सेल्सीयससम्म बढ्न सक्ने एक अध्ययनले देखाएको छ ।

संख्यात्मक रुपमा हेर्दा अहिलेको तापक्रम वृद्धि दर सामान्यतयाः न्यून देखिए पनि यसको असर भने भयावह रुपमा देखिने र देखिरहेको विज्ञले बताएका छन् । यसै कारण नेपालमा प्रत्येक वर्ष वर्षा प्रणालीमा परिर्वतन, हिमताल विस्फोट, अनपेक्षित विपद् निम्तने क्रम बढ्दो छ ।

अर्को डरलाग्दो विषय त के भने तापमान वृद्धि पहाड र तराईको तुलनामा हिमालमा बढी रहेको पाइएको छ । जसका कारण ४७ वटा हिमताल विस्फोट हुने जोखिम छ । विश्वव्यापी रुपमा गरिएको एक अध्ययनले विश्वको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सिएसमा सीमित गर्दा पनि त्यसको असर हिमालमा बढी पर्ने देखिएको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घलाई दिएको दस्तावेजमा विश्वव्यापी तापक्रम वृद्धि रोक्ने दिशामा हरितगृह ग्यास उत्सर्जन कटौती गर्दै शून्य कार्बन उत्सर्जनको लक्ष्य सन् २०५० सम्म भेट्ने प्रतिवद्धता जनाएको छ । तर, यसमा ठोस काम नै हुन सकेको छैन । अझै बढी कार्बन उत्सर्जन गर्ने देशले यसलाई वेवास्ता गर्दा नेपाल जस्ता देशलाई यसको असर बढी पर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *